Tue. Dec 24th, 2024

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजद्वारा पैचिंग हिउँदे ओलम्पिकको सफलताको शुभकामना

काठमाण्डौं, २०७८ माघ १९ गते बुधबार । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले चीनको राजधानी पैचिंगमा यहि फेब्रुअरी ४ देखि आयोजना हुने हिउँदे ओलम्पिक प्रतियोगिताको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ । साथै उहाँले खेलकुद खेल आपसी एकता, भातृत्वका, मित्रता र विश्व शान्तिको लागि हुने भएकोले खेलकुदलाई राजनीति र असहमती एवम् विमतीबाट टाढा राख्दै खेललाई खेलकै रुपमा अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले दिनुभएको शुभकामना सन्देश जस्ताको तस्तै :

चीनको राजधानी पैचिंगमा यहि फेब्रुअरी ४ देखि हिउँदे ओलम्पिक प्रतियोगिता भव्य रुपमा आयोजना हुन लागिरहेको छ । दूर्भाग्य सो खेलकुद प्रतियोगितामा नेपाली खेलाडीको छनौट नभएको कारणले सो खेलमा सहभागी हुने अवसर हामीलाई प्राप्त भएको छैन । यो ओलम्पिक भव्य रुपमा हाम्रो छिमेकी मित्रराष्ट्र चीनले असाध्यै अब्बल व्यवस्थापनका साथ जसरी सुरुवात गर्दैछ यो हिउँदे ओलम्पिकले विश्वभरीका खेलाडीहरुमा र विश्वभरीका जनतामा एउटा नयाँ खालको एकता, सद्भाव र सहकार्यको भावना पैदा गर्नेछ । खेल आफैँमा एकता, सद्भाव र मेलमिलापको लागि उच्चत्तम माध्यम हो । मित्रराष्ट्र चीनमा हुन लागिरहेको यस भव्यतम् ओलम्पिक खेलमा परिस्थितीजन्य कारणले हामी उपस्थिती हुन नसके पनि म नेपाली जनताको तर्फबाट र नेपाल सरकारको तर्फबाट यस ओलम्पिक खेलको भव्यतम् सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

चीनसँगको हाम्रो आपसी मित्रता, हाम्रो सम्बन्ध असाध्यै पुरानो छ र यो युग युगसम्म कायम हुनेछ । चीनले नेपालको खेलकूदको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । अहिले पनि नेपालमा भएका ठूला पूर्वाधारहरु चिनियाँ सरकार र चिनियाँ जनताको सद्भाव र सहयोगबाट बनेका छन् । यो विश्वकै योग्यत्तम खेल खेलाडीहरु उत्पादन गर्ने देशको रुपमा चीन हाम्रो नजिक रहनु अझ छिमेकी देशको रुपमा रहनु हाम्रो लागि गौरवको कुरो हो र हामी यसलाई गौरवको रुपमा लिने गर्छौ । चीनमा जुन खेल आयोजना हुँदैछ त्यो नितान्त खेलाडीहरुको लागि आयोजना गरिएको खेल हो र यसले विश्व शान्ति र विश्व भाइचारा सम्बन्धको लागि महत्वपूर्ण योगदान नै गर्ने गर्दछ । त्यसैले खेलमा राजनीति गर्नुहुँदैन । किनकी खेल खेलकै लागि हुनुपर्छ । खेल आपसी एकता र भातृत्वका लागि, मित्रताको लागि हुनुपर्छ । त्यस अर्थमा हेर्दाखेरी चीनले यस भन्दा पहिले पनि ओलम्पिकको आयोजना गरेर विश्वलाई नयाँ सन्देश दिईसकेको छ । त्यो व्यवस्थापकिय रुपले र सद्भावको रुपले पनि । यस खेलले पनि विश्वलाई एउटा नयाँ सन्देश र सद्भाव दिने नै छ । त्यसैले खेललाई हामीले राजनीतिबाट र हाम्रा असहमति र विमतिबाट टाढा राख्दै खेललाई खेलकै रुपमा अघि बढाउनु पर्छ र यसमा विश्व एक ठाउँमा हुनुपर्छ भन्ने मेरो भनाई छ । 

म पुन: एक पटक यो फेब्रुअरी ४ देखि हुने ओलम्पिक खेलको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद

Facebook Comments