Sat. Dec 14th, 2024

उत्तर कोरियाद्वारा ध्वनिभन्दा पाँचगुणा बढी वेगको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी

काठमाण्डौं, २०७८ पुस २२ गते बिहीबार । उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ।

नयाँ वर्ष सुरु भएयता उत्तर कोरियाले गरेको यो प्रमुख अस्त्र परीक्षण हो। सरकारी समाचारसंस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निसानामा ‘ठ्याक्कै प्रहार’ गरेको थियो।

यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो। हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बलिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने बताइन्छ। प्योङ्याङको सैन्य सामर्थ्य अभिवृद्धि गर्ने प्रतिबद्धता किम जङ-अनले गरेपछि यो पछिल्लो परीक्षण भएको छ।

नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण प्योङयाङले आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताएका थिए।

दक्षिण कोरिया र अमेरिकासँग वार्ता स्थगित भइरहँदा उत्तर कोरियाले अघिल्लो वर्ष कैयौँ प्रकारका क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो।

हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीन सहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ। पछिल्लो परीक्षणलाई सबैभन्दा पहिले जापानी तटरक्षक निकायले बुधवार बिहान पहिचान गरेको थियो। त्यसपछि सोलका रक्षा अधिकारीहरूले त्यसलाई पुष्टि गरेका थिए। बुधवारको परीक्षणमा हाइपरसोनिक ग्लाइडिङ वारहेड (युद्धशीर्ष), रकेटको बूस्टरबाट अलग भएको थियो र १२० किलोमिटरसम्म यता उति घुमेर ७०० किलोमिटर पर रहेको निसानामा ठ्याक्कै प्रहार गरेको केसीएनएको विवरणमा उल्लेख छ। बीबीसी

Facebook Comments