Fri. May 3rd, 2024

ओमिक्रोन भेरिअन्ट कम घातक भएको सङ्केत, तर जोखिम भने कायमै

काठमाण्डौं, २०७८ पुस ९ गते शुक्रबार । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।

प्रारम्भिक नतिजाले अन्य भेरिअन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरिअन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ।

तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन्।

यूकेमा बुधवार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्। ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ। स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ।

त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ।

अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ। पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो “एउटा राम्रो समाचार” भएको बताउनु भएको छ ।

उहाँले यो तथ्याङ्कले अस्पताल भर्ना विषयमा “थाहा पाउन बाँकी कुरा केही भनेको” बताउँदै तर यसकै आधारमा “केही हुँदैन भनेर बाहिर निस्कन” नहुने बताउनु भयो । बीबीसी

Facebook Comments