Sat. Sep 28th, 2024

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनको मतगणना कार्य सम्पन्न

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सम्पन्न भएको निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ ।

हिजोदेखि मतगणना सुरु भएको दलित आदिवासी जनजाति र खस आर्य क्लस्टरको मतगणना सम्पन्न भएपनि दलित क्लस्टरको मत परिणाम सार्वजनिक भइसकेको र बाँकीको मत परिणाम अहिले ८ः०० बजे सम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले आदिवासी जनजाति र खस आर्य क्लस्टरको सम्पन्न मतगणनाको विजेता छुट्याउने लगायत केही प्राविधिक कार्य मात्रै बाँकी रहेको र एक घण्टा भित्रमा नतिजा सार्वजनिक हुने बताउनुभयो ।

यस अघि दलित केन्द्रीय सदस्यको मत परिणाम भने सार्वजनिक भइसकेको छ । जस अनुसार दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित हुनुभएको छ ।

यसैगरी दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका अर्का सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी चार वर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । मतदान बाट १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

३३ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनयन गर्नुहुने छ । एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

Facebook Comments