Fri. May 17th, 2024

ललितपुरको पाटनमा लिच्छविकालीन शिलालेख भेटियो

काठमाण्डौं, २०७८ पुस ८ गते बिहीबार । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन शिलालेख भेटिएको छ । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभएको छ ।

राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको हो । यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो ।

१५ पङ्क्तिको सो अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ । सो शिलालेखको माथिल्लो भागमा दायाँ-बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।

शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो अहिलेसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञ राजवंशीले बताउनुभयो । अभिलेखमा योग्रङ्ग्राम र अन्तिम पङ्क्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।

अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताउनुभयो ।

सो क्षेत्रमा एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा ढल निर्माणको कार्य गरिरहेको छ । पुरातात्त्वविक क्षेत्र भएकाले पुरातात्त्व विभागको समेत निगरानीमा सो क्षेत्रको ढल निर्माण कार्य भइरहेको छ । उत्खनन समूहमा खटिएका पुरातत्त्वविद् दर्नालका अनुसार सो क्षेत्रमा ३०/३५ वर्षअघि भण्डारी बिल्डर्सले ढल निर्माण गरेको थियो । सोही क्रममा शिलालेख भेटिएको भए पनि त्यत्तिकै पुरिएको थियो ।

Facebook Comments