Fri. May 3rd, 2024

नेपालमा हालसम्म साढे तीन करोड खोप भित्रियो, एक करोड खोप मौज्दात

काठमाण्डौं, २०७८ पुस ६ गते मंगलबार । नेपाललाई पुस २ गतेसम्म तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप प्राप्त भएको छ । प्राप्त खोपमध्ये पुस २ गतेसम्मै दुई करोड १४ लाख ४५ हजार १४५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले उपलब्ध गराएको खोपको आयात र वितरण भएको तथ्याङ्क हेर्दा नेपालसँग एक करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप सुरक्षित हुनुपर्ने हो । तर, स्वास्थ्य सेवा विभागको आपूर्ति शाखामा पुस २ गतेसम्म केन्द्र र प्रदेश गरी सरकारसँग एक करोड १ लाख ५० हजार मात्रा खोप बाँकी छ ।

शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्रमा ६५ लाख खोप छ भने बाँकी प्रदेशमा रहेको छ । सरकारसँग हुनुपर्ने खोपमध्ये करिब ३९ लाख मात्रा खोप कता छ, मन्त्रालयसँग नै हिसाब छैन ।

मन्त्रालयका अधिकारीहरु कतिपय दुर्गम जिल्लाबाट खोप लगाएको विवरण ढिला प्राप्त हुने भएकोले पनि सबै तथ्याङ्क समेट्न नसकिएको जवाफ दिन्छन् । साथै पालिका र जिल्लाहरुमा पनि कति मात्रामा खोप गएको छ भन्ने यकिन तथ्याङ्क पनि मन्त्रालयसँग नभएको उनीहरु स्वीकार गर्छन् ।

सरकारको विवरणमा ३८ लाख ७१ हजार ८३५ मात्रा खोप समेटिएको छैन । ‘कतिपय दुर्गम जिल्लाबाट खोपको लगाएको विवरण अझै आइसकेको छैन,’ आपूर्ति शाखाका डा. सुरेन्द्र चौरसियाले भन्नुभयो, ‘पालिका तह र जिल्लाजिल्लामा पनि खोप पठाइएको छ । कुन पालिकामा कति गयो भन्ने यकिन विवरण पनि छैन । यसले गर्दा पनि तथ्याङ्कमा एकरुपता नआएको हुनसक्छ ।’

सरकारले आगामी वर्ष वैशाखसम्म कोरोनाविरुद्धको खोप लगाउन योग्य उमेर समूहका सबै नागरिकलाई खोप उपलब्ध गराउने नीति लिएको छ । साथै सरकारले खोपको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाएको छ, तर खोपको आयात र वितरणमा सरकारी संयन्त्रहरुबीच नै प्रभावकारी समन्वयको अभाव देखिन्छ । जसका कारण केन्द्रबाट पठाइएको खोपको विवरणको सही तथ्याङ्क सरकारसँग छैन ।

सरकारले छिमेकी भारत र चीनसहित विभिन्न मुलुकबाट अनुदान र खरिद प्रक्रियामार्फत कोरोनाविरुद्धको खोप आयात गरेको हो । शाखा प्रमुख चौरसियाका अनुसार पुस ५ गते (सोमबार) भेरोसेलको ५९ प्यालेट अर्थात् १२ लाख एक हजार ८७ भाइल र कोभिसिल्ड १८ लाख ७० हजार पाँच सय डोज खोप थपिएको छ । यो खोप नेपालले अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको हो ।

कोरोनाविरुद्धको खोप लगाउन सुरु भएदेखि अहिलेसम्म नेपालमा दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ३९.८ प्रतिशतले एक मात्रा र ३१.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । जुन लक्षित जनसङ्ख्याको ६०.७ प्रतिशतले खोपको एक मात्रा र ४८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

नेपालमा अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, मोडर्ना, फाइजर खोप लगाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments