Fri. May 17th, 2024

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौं र इलाममा प्रदर्शन

काठमाण्डौं, २०७८ पुस ६ गते मंगलबार । एमसीसी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका छन् । र्‍यालीसहित गरिएको विरोध प्रदर्शनपछि कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

 एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीसहितका नेताको अगुवाइमा काठमाण्डाैमा विरोध प्रर्दशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गर्नुभयो । उहाँले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताउनुभयो । महासचिव मैनालीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नका लागि नेपाललाई अखडाकाे रूपमा प्रयोग गर्न चाहेको समेत बताउनुभयो । उहाँले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताउनुभयो ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी नेपालीहरूका लागि एउटा धोका भएको बताउनुभयो । उहाँले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाउनुभयो । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गर्नुभयो । उहाँले अमेरिकाको पैसा खाएकाहरूले, आश्वासनमा विकेकाहरूले नै एमसीसी पास गर्न खोजेको आरोप लगाउनुभयो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले संसदवादी दलमा पनि देशभक्त नेताहरू भएकाले सहजै एमसीसी पास हुन नसकेको बताउनुभयो । उहाँले केही पार्टी फुटबाट आएकाले आउँदाे चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिले जति हौसिन छोडेको बताउनुभयो ।

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको बताउनुभयो ।

यसैबीच, बिप्लव नेतृत्वको नेकपाले इलाममा बिरोध सभा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को बिरोधमा बिप्लव नेतृत्वको नेकपाले इलाम सदरमुकाममा बिरोध सभा गरेको हो । सभा हुनुपूर्व भएको बिरोध र्यालीमा धेरै बिद्यार्थीलाई सहभागिता रहेको थियो ।

इलाम सदरमुकामकै आदर्श मावि, इलाम फाउण्डेशनका केही बिद्यार्थीहरु बिद्यालयबाट र इलामको मरब क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो । आफूहरु रयालीमा स्वतस्फूर्त आएको बिद्यार्थीले प्रतिक्रिया जनाएका थिए । रयालीमा पार्टीका अन्य नेता तथा कार्यकर्ताको सहभागिता पनि रहेको थियो । एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने संसदवादी दलहरुको तयारी बिरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी यतिखेर देशभर आन्दोलित छ । यसैक्रममा इलाममा पनि बिरोध रयालीका साथै सभा गरेको हो ।

लोक सन्देश अनलाईनका अनुसार र्याली पछि चोक बजारमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमन सिंहले संसदवादी नेताहरुले एमसिसी पास गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । राज्यको मुख्य शक्ति जनता हो, जनताले एमसिसि खारेज गरिसकेको छ, यदि पेलेर पास गर्ने सपना देखेको भए त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभयो । कोणसभालाई पार्टीका जिल्ला सचिब रुद्र सांम्पाङ्ग, जिल्ला सेक्रेटरी मौसमले सम्बोधन गर्नुभएको थियो । ठूलो टुडिखेलबाट नस्किएको बिरोध रयालीले एमसिसी खारेज गर, एमसिसी चांहिदैन, देश बेच्न पाइदैन, रास्ट्रघाती दलालहरु होसियार, देशभक्त नेपालिहरु एक होऔं, गो ब्याक एमसिसी जस्ता नाराहरु लगाएका थिए ।

Facebook Comments