Thu. Dec 5th, 2024

एमालेको नाराबाजी र अवरोधबीच प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

काठमाण्डौं, २०७८ पुस ६ गते मंगलबार । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच आज प्रतिनिधिसभाको बैठक सञ्चालन गरिएको छ । साथै सो बैठकले आज दुई अध्यादेश समेत पारित गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पारित भएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका  प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सुवालले अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच दुवै अध्यादेश सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभएको हो । दुवै अध्यादेश पारित गर्नु अगाडि बैठकले सांसद्‍ सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाकाे अर्को बैठक भोली बुधबार दिउँसो १ बजे बस्नेगरी आजकाे बैठक स्थगित भएको छ ।

Facebook Comments