Sat. Sep 28th, 2024

आज काठमाडौं उपत्यकामा योमरी पुन्ही मनाइँदै, धान्यपूर्णिमा पनि आजै

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । आज काठमाडौं उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले भव्य रुपमा योमरी पुन्ही मनाइँदैछन् ।

मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाईने यस पर्वमा नयाँ चामलको पीठोभित्र चाकु र कुराउनी बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिने गरिन्छ ।

मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

आज काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवीलगायत ठाउँ मेला लाग्ने गर्दछ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् ।

नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी  सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ।

सरकाले योमरी पुन्हीको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डौ उपत्यकामा भने सार्वजनिक बिदा दिएको छ।

Facebook Comments