Sun. May 19th, 2024

आज हरिबोधनी एकादशी, भगवान नारायणको श्रद्धा एवम् भक्तिपूर्वक पूजाआजा गरिदै

dav

काठमाण्डौं, २०७८ कात्तिक २९ गते सोमबार । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीको पावन अवसरमा देशभरका नारायण मन्दिरहरुमा भगवान नारायणको श्रद्धा एवम् भक्तिपूर्वक पूजाआज गरिदैछ । आज बिहानैदेखि काठमाण्डौं उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुईचो लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास रहेको छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई श्रद्धा एवम् भक्तिपूर्वक पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।

विहान सबेरैदेखि उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकै दिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा भक्तजन आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठुला ढुङ्गामा स्थापना गरिएको छ ।

नाराययणस्थानमा आज हजारौं भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई सुठुनी, तरुल, उखु, विभिन्न प्रकारका फलफूल जस्ता फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस अवसरमा काठमाण्डौंको नागार्जुन नगरपालिकाले इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर सार्वजनिक बिदा दिएको छ । बूढानीलकण्ठ र दक्षिणकाली नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

आज विहान सबेरैदेखि काठमाण्डौंको पूर्वीदिशामा रहेको चागुनारायण मन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ । उपत्यकाका विभिन्न स्थानबाट भगवान नारायणको दर्शन तथा पूजाआराधना गर्न हजारौंको संख्यामा भक्तजन तथा रमितेहरु चागुनारायण पुगेका छन् । हरिबोधनी एकादशीकै अवसरमा आज सो क्षेत्रमा ठूलो मेला लागेको छ ।

Facebook Comments