Sun. May 19th, 2024

प्रधानन्यायाधिशको राजिनामा माग्दै आज पनि कानून व्यवसायी प्रदर्शनमा

sdr

काठमाण्डौं, २०७८ कात्तिक २८ गते आईतबार । आन्दोलनरत कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।

dav

न्यायपालिका भित्रको विकृति, विसंगती र भ्रष्टाचारविरुद्ध उनीहरुले नेपाल बार एशोसिएशनको नेतृत्वमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विहान १० बजेदेखि साढे ११ वजेसम्म सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै  धर्ना दिएका हुन् । धर्ना अवधिभर उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिरहे ।

sdr

शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गर्नुभएको थियो । शुक्रबार कानून व्यवसायीहरु सर्वोच्चको गेटबाहिर बसेका थिए तर आज भने उनीहरूले भित्र बसेर राणालाई रोक्न खोजेका थिए ।

sdr

सुरुमा सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न सुरक्षाकर्मीहरुले रोक लगाए पनि शान्तिपूर्ण आन्दोलन भएको जिकीर नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्र श्रेष्ठ लगायतका कानून व्यवसायीहरुले गरेपछि उहाँहरुलाई मुख्य गेटसम्म जान दिईएको थियो । धर्नामा नाराबाजी गर्दै बसिरहेका कानून व्यवसायीहरुको माइक खोसिएपछि उनीहरु आक्रोसित भएका थिए । सो क्रममा केही समय सुरक्षाकर्मीहरुसँग उनीहरुको घम्साघम्सी भएको थियो ।

sdr

न्यायपालिकाको गरिमा कायम राख्न प्रधानन्यायाधिशले राजीनामा दिनुको विकल्प नभएको कानून व्यवसायीहरुले बताईरहँदा सर्वोच्चको मूल गेट बाहिर केही मानिसहरु न्यायपाललिकालाई निर्वाध रुपमा सञ्चालन गर्न कानून व्यवसायीहरुले नदिएको आरोप लगाउदै बार र कानून व्यवसायी विरुद्ध नाराबाजी गरेपछि दुवैपक्षबीच केही समय झडप भएको थियो । त्यसलगत्तै सुरक्षाकर्मीहरुले कानून व्यवसायी विरुद्ध नारा लगाउने मध्ये केहीलाई गिरफ्तार गरेका थिए ।

dav

कानून व्यवसायीहरुले धर्ना र सम्बोधन जारी राखेको समयमा माईतीघर मण्डलातिरबाट नेपालको राष्टिय झण्डा बोकेर मोटरसाईकलको हर्न एकोहोरो बजाउदै आएका २०/३० जनाको समूहले कानून व्यवसायीहरु विरुद्ध चर्को नाराबाजी सुरु गरे पछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो ।

sdr

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेकोलगायत  विवादमा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

धर्ना कार्यक्रम सञ्चालन भैरहँदा केही कानून व्यवसायीहरुले आन्दोलनको औचित्यता र निरन्तरताको पक्षमा बोलेका थिए ।

धर्ना कार्यक्रम सम्पन्न भएपछि आन्दोलनरत कानून व्यवसायीहरुलाई नेपाल बार एशोसिएशनको प्राङगणमा नेपाल बारका अध्यक्ष चण्डेश्र श्रेष्ठ लगायतका केही वरिष्ठ अधिवक्ता र बारका पूर्वपदाधिकारीहरुले सम्बोधन गर्दै प्रधानन्यायाधिशले राजीनामा नदिएसम्म ब्याक गियर नभएको  यो आन्दोलन नरोकिने र निरन्तर जारी राख्ने बताए ।

Facebook Comments