Sun. May 19th, 2024

नेकपा मालेको आठौं महाधिवेशन भोलीदेखि चितवनमा

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुनेभएको छ । भोली कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो ।

महाधिवेशन मूल व्यवस्थापन समितिले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ ।

मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० जना प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । यस महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । सोही समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ ।

महाधिवेशनमा नेपालको क्रान्तिको कार्यक्रम (नयाँ जनवाद), राजनैतिक प्रतिवेदन, नेपाल चिन्तन, मालेको सङ्गठनात्मक प्रस्ताव/प्रतिवेदनमाथि छलफल गर्नेछ । यस्तै पार्टीको तत्कालीन कार्यनीति, अर्थनीति, राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको विधान (परिमार्जनसहित पारित गर्ने) घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको महाधिवेशनमा हालको राज्य व्यवस्था असफल भएको विषयमा बृहत् छलफल हुनेछ । अहिलेको सङ्घीयताका कारण जनतामा परेको समस्या विशेष प्राथामिकतामा रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनमा प्रादेशिक संरचनाको विषयमा छलफल हुनेछ ।” प्रदेशका संरचना हटाई स्थानीय तह र जिल्लालाई अधिकार दिने विषयमा विशेष निर्णय गरिने उहाँको भनाइ थियो । रेडियो नेपाल

Facebook Comments