Sun. May 19th, 2024

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, तत्काल फिर्ता लिन ६ वटा विद्यार्थी संगठनको माग

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अप्रत्यासित रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शन गरेको छ ।

आज सो संगठनले काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।

मूल्य वृद्धि तत्काल फिर्ता लिन ६ विद्यार्थी संगठनको माग

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा विरोध जनाउँदै ६ विद्यार्थी संगठनले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन भनेका हुन् । उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु,जसपा निकट समाजवादी विद्यार्थी संघ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सँयुक्त विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कार्तिक २६ गते बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने चेतावनी उनीहरुले दिएका छन् । त्यस्तै कात्तिक २८ गते प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गरी विरोध जनाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखी बिरोध गर्ने र मङ्सिर २ गते माइतीघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।

नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको भन्दै उनीहरूले मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

Facebook Comments