Sun. May 19th, 2024

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच झडप, इजलास नबसेपछि मुद्दाको सुनुवाइ प्रभावित

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यबसायीले जारी राखेको विरोध प्रदर्शनका क्रममा प्रहरी र कानुन ब्यवसायबीच झडप भएको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसनका वकिलहरुको धर्ना दिँदै नाराबाजी गर्नुभएको थियो । त्यसलाई व्यवस्थापन गर्ने क्रममा कानून व्यवसायीहरुले सुरक्षाकर्मीमाथि जबजस्ती गर्नुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सर्वोच्च प्रवक्त दाहालले कानून व्यवसायीले सुरक्षाकर्मीमाथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको बताउनुभयो ।

‘कानून व्यवसायीमाथि प्रहरीले हातपात गर्नुभएको होइन । प्रशासनिक निर्देशन पनि केही होइन । सुरक्षाकर्मी नियमित सुरक्षाको लागि आफ्नो कर्तव्य निर्वाह गर्नुभएको हो ।,’ उहाँले भन्नुभयो, ‘कानुन व्यवसायीले सुरक्षाकर्मीले जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको हो ।’

यद्यपि सो क्रममा केही कानुन व्यवसायी घाइते हुनुभएको जनाइएको छ ।

 इजलास नबसेपछि मुद्दाको सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले अघोषित रुपमा इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । न्यायाधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज नौ मध्ये ५ वटा इजलासमा १४ वटा मुद्दामा मात्र सुनुवाइ भयो ।

सर्वोच्चमा आज नौ वटा इजलासका लागि पेशी तोकिएका १ सय ७७ मुद्दामध्ये ६ वटा बन्दी प्रत्यक्षीकरण मुद्दासहित १४ वटा मुद्दामा मात्र सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा पेशी तोक्नुभएको बन्दी प्रत्यक्षीकरण बाहेकका सबै ६ वटै मुद्दामा सुनवाइ गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्ने अडान राख्दै आएका छन् ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् ।

यसैबीच, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोधका कार्यक्रम जारी राखेको नेपाल बार एशोसिएशनले शुक्रवारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

यस्तै, नेपाल बारले भोलिदेखि सर्वोच्च अदालतको कुनै पनि इजलासमा बहस नगर्ने र बेञ्ज बहिस्कार गर्ने जनाएको छ । यसैगरी,  प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरुलाई अनुरोध समेत गरेको छ ।

बारले आज गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा महासचिव लिलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायत ५ जना घाइते भएको उपाध्यक्ष मानबहादुर रुम्दालीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश र कानुन व्यवसायीको विश्वास गुमाइसकेको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ ।

Facebook Comments