Sun. May 19th, 2024

खोप लगाउन योग्य सबै नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

काठमाण्डौं, २०७८ कात्तिक २३ गते मंगलबार । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोप लगाउन योग्य सबै नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले खोप पाउन योग्य बच्चादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताउनुभयो ।

यसैबीच हिजो बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले वर्षाका कारण धान बालीमा पुगेको क्षतिको राहत दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस अगाडि कार्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले बाढी तथा डुबानका कारण धान बालीमा पुगेको क्षतिको अध्ययन गरी अधिकतम ६५ प्रतिशत सम्म राहत दिने निर्णय गरी कार्यविधि तयार गर्न कार्यदल गठन गरेको थियो ।

यसैगरी बैठकले कुश्मा ४०० केभी सवस्टेशन र जुम्ला सवस्टेशनको निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, कीर्तिपुर नगरपालिका र चीनको हुवे प्रान्तको हुङ्गेङ (Huanggang) शहरबिच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने तथा जेनेभामा सञ्चालन हुने विश्व स्वास्थ्य सङ्गठनको विशेष विश्व स्वास्थ्य सम्मेलन (special session of the world health assembly) मा सहभागी हुन स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ ।

Facebook Comments