Sun. May 19th, 2024

सूर्यदेवको पूजा आराधना गरी आज श्रद्धा एवम् भक्तिपूर्वक छठ पर्व मनाइँदै

काठमाण्डौं, २०७८ कात्तिक २४ गते बुधबार ।  छठ पर्वको मुख्य दिन आज तराई-मधेसका विभिन्न जिल्लाहरुमा भव्य रुपमा अस्ताउँदो सूर्यलाई अध्र्य दिने तयारी भैरहेको छ । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु जलासय तर्फ लाग्ने परम्परा भए पनि यस वर्ष सो परम्परा केही स्थानहरुमा मात्र सिमित भएका छन् ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

छठ पर्वको अवसरमा मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा, जनकपुरको मिथिला क्षेत्र, सिरहा, सप्तरी, बीरगञ्ज लगायतका शहर तथा क्षेत्रमा पर्ने खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु आकर्षक ढंगबाट सजाईएका छन् ।

यसैबीच छठ पर्वलाई भव्य रुपमा सम्पन्न गर्न काठमाडौंको पशुपति तथा गुह्यश्वरी क्षेत्रको बागमती नदी किनारा, थापाथली क्षेत्र र कमल पोखरीलाई झकिझकाउ पारिएको छ ।

पछिल्ला दिनहरुमा छठ पर्व तराई-मधेसबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रुपमा देशै भरी फैलिएको छ । छठ पर्वको पावन उपलक्ष्यमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

Facebook Comments