Sun. May 19th, 2024

राष्ट्रिय सम्मेलनको तयारी, एमसीसी लगायतका विषयमा छलफल गर्दे माओवादी स्थायी कमिटी बैठक सम्पन्न

काठमाण्डौं, २०७८ कात्तिक २३ गते मंगलबार । नेकपा (माओवादी केन्द्र) को मंगलबार बिहानदेखि बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा आगामी पुषमा हुन गइरहेको पार्टीको राष्ट्रिय सम्मेलन सम्बन्धमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो ।

‘राष्ट्रिय सम्मेलनमा केन्द्रित भएकोले संगठनात्मक विषयमा बैठकमा छलफल भयो । यसका लागि वडा सम्मेलनहरु कसरी गर्ने, कमिटीहरु गठन, संस्था नवीकरणको विषयमा छलफल भयो । कतिपय प्रदेशका आन्तरिक समस्याका विषयमा पनि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’, गुरुङले बताउनुभयो । यसैगरी पार्टी अध्यक्ष प्रचण्डले पाँच दलीय सत्ता गठबन्धन सञ्चालनका लागि सबै दलबाट दुई-दुई जना सहितको समन्वय समिति गठन भएको पनि उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहायता  सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाबारे अमेरिकालाई पत्राचार गरिएको विषयमा पनि छलफल भएको गुरुङले बताउनुभयो । ‘पार्टीका नेताहरुले नै कुनै एउटा कम्पनीसँग पत्राचार गर्ने विषय कतिको उपयुक्त हो ? एमसीसी संशोधन नभई पास हुन नहुने हाम्रो अडान कायम छ ।’, उहाँ बताउनुहुन्छ । यसैगरी राष्ट्रिय सम्मेलन काठमाडाैंमा गर्ने निर्णय भएकाे बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

Facebook Comments