Thu. Nov 21st, 2024

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम तस्विर

काठमाण्डौं, २०७८ कात्तिक १८ गते बिहीबार । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ती । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा कै दिन काठमाण्डौको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ । उहाँले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेख्नु भएको छ । विशेष गरी मुनामदन कृतिका लागि उहाँ सबैभन्दा प्रख्यात हुनुहुन्छ ।

वि.सं. २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो ।

वि.सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा महाकवि देवकोटाको पशुपति आर्यघाटमा निधन भएको हो।

लक्ष्मी प्रसाद देवकोटा पण्डित तीलमाधव देवकोटा र अमर राज्यलक्ष्मी देवीका साईला छोरा हुनुहुन्थ्यो। उहाँ डिल्लीबजार, धोबीधारा, काठमाडौँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिनु भयो। वि.सं. १९६६ साल कार्तिक २७ गते गाई तिहाररऔंशी लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उहाँको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उहाँको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

देवकोटा जन्मेदेखि नै उहाँका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो। उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो। साथै उहाँको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन। त्यसैले उहाँ सानैमा भन्नुहुन्थ्यो, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु। तर उहाँ चाहिँ जन्मेदेखि नै रोगी हुनुहुन्थ्यो। देवकोटाले बाल्यकालमा नै अमरकोश कण्ठ पार्नुभएको थियो र स्तोत्रमाला पढ्नु भएको थियो। उहाँ सानैदेखि आफ्ना बुबाको कविता सार्नु हुन्थ्यो। आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो। उहाँलाई उहाँका बुबाले पण्डित बनाउन खोज्नु भएको थियो तर उहाँ महाकवि बन्नु भयो ।

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । वि.सं. १९८५ मा उहाँको पहिलो सन्तान छोरी सावित्री र वि.सं. १९८९ मा जेठो छोरा प्रकाश जन्मिनु भयो । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म वि.सं. १९९३ मा भएको थियो । कानुनमा स्नातकोपाधि हासिल गरेपछि उहाँ आफ्नो घर फर्किनु भयो जहाँ उहाँले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो। दुई वर्ष भित्रै उहाँका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती वियोगान्त घटनाहरूले उहाँलाई मर्माहत तुल्यायो र सायद यसैले उहाँलाई चुरोटको लत लाग्यो । पछिल्ला वर्षहरूमा उहाँका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उहाँलाई अझ दुःखी बनायो र यसले उहाँको मस्तिष्कलाई समेत चोट पुर्‍यायो । उहाँले केही समय मानसिक संस्थामा पनि बिताउनु भयो ।

दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (वि. सं. २०१५)मा क्यान्सर लागेको थाहा भयो।  भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उहाँलाई आफ्नो मृत्यु आएको पक्का भयो । उहाँ रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाल्नु भयो । एक वर्षपछि वि.सं. २०१६ साल भाद्र २९ गतेका दिन उहाँको दुःखद निधन भयो ।

महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको पावन उपलक्ष्यमा भ्वाईस अफ काठमाडौं परिवार वहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

मृत्युशैयाबाट

– महाकवि लक्ष्मी प्रसाद देवकोटा

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझै अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैं छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

Facebook Comments