Thu. Nov 21st, 2024

पर्यटन मन्त्री भन्नुहुन्छ: “नेपाल एयरलाइन्समा मेजर अप्रेसन गर्नुपर्छ”

काठमाडौं, २०७६ पुष १४ गते सोमबार ।

नेपाल भ्रमण वर्षको औपचारिक उदघाटनको तयारीमा जोडतोडले चलिरहेको छ । र, भ्रमण वर्षको मुख्य तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । आइतबार अपराह्न मन्त्रालयमा पुग्दा मन्त्री योगेश भट्टराई मन्त्रीमा व्यस्त हुनुहन्थ्यो । पछिल्लो दुई साता उहाँ एकपछि अर्को मिटिङमा व्यस्त हुनुहुन्छ । त्यही व्यस्तताका बीच छोटो समय निकालेका मन्त्री भट्टराईसँग भ्रमण वर्षको तयारी, सरकारको अपेक्षा, विमानस्थललगायतका पूर्वाधारको अवस्थाबारे अनलाइनखबरकर्मी अच्युत पुरीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

भ्रमण वर्ष २०२० शुभारम्भ मुखमै छ, व्यस्तता कस्तो छ ?

नेपाल भ्रमण वर्षको उदघाटन कार्यक्रमको अन्तिम तयारीमा छौं । त्यसकै सन्दर्भमा विभिन्न राष्ट्रिस्तरका संघ संगठन, विदेशी कूटनीतिक नियोगका प्रमुख, सरकारकै अन्तर मन्त्रालय र विभागहरुसँग लगातार बैठक, छलफल चलिरहेको छ । त्यसमै खटिएको छु ।

भ्रमण वर्ष २०२० को तयारीको काम कहाँ पुग्यो ? के-के काम अब बाँकी छन् ?

भ्रमण वर्ष अभियान कुनै एक दिन वा एक साता चल्ने होइन । यो वर्षभर चल्छ । त्यसकारण उदघाटन कार्यक्रम भव्य ढंगले गर्न सक्यौं र राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा एउटा राम्रो सन्देश दिन सक्यौं भने यसले वर्षभर नेपालमा पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत गर्छ भनेरै यसमा केन्दि्रत भएका छौं । १ जनवरीमा राष्ट्रपतिबाट भब्य उदघाटन हुन्छ । विदेशस्थित विभिन्न कूटनीतिक नियोगले पनि जनवरी ७ मा उदघाटन कार्यक्रम आयोजना गर्नुहुन्छ । गैरआवासीय नेपाली संघका साथीहरुले विश्वका विभिन्न शहरमा कार्यक्रम गर्नुहुन्छ । जनवरी पहिलो साता नेपालको सन्दर्भमा विश्वव्यापी एक माहौल सिर्जना हुनेछ ।

हामीले उदघाटनका अवसरमा भीआईपी पाहुनाहरुलाई बोलाएका थियौं, को-को आउँदै हुनुहुन्छ ?

भ्रमण वर्षको शुभारम्भ जनवरी १ मै गर्नुपर्ने भयो । यो दिन संसारभरका मानिसका लागि यो ठूलो उत्सवको दिन हो । उहाँहरुको सार्वजनिक बिदा पनि हुन्छ । बिदाको माहोल हुन्छ । यसका बाबजुद अहिलेसम्म भारत, चीन, म्यानमार र जमैकाबाट पर्यटनमन्त्री आउँदै हुनुहुन्छ । कतार, भुटान, कम्बोडियोलगायत मुलुकबाट उच्चस्तरीय प्रतिनिधित्व हुँदैछ । ५० भन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता हुँदैछ । पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विदेशी निजी क्षेत्रका व्यवसायी र प्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम छ ।

भ्रमण वर्षको अवसर पारी राज्यबाट अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने प्रकारको केही नयाँ घोषणा वा प्याकेज सार्वजनिक हुन्छ भन्ने अपेक्षा थियो, भएन नि ?

२०२० लाई पर्यटन वर्षका रुपमा मनाउने क्रममा सरकारले केही निश्चित छूट र सहूलियत ल्याउनैपर्छ । त्यसमा हामी तयारी गरिरहेका छौं र अब क्रमशः घोषणा गर्दै जान्छौं । निजी क्षेत्रबाट प्याकेजहरु घोषणा भइसकेको छ । सरकारले पनि गर्छ । त्यसमा हिमालमा लाग्ने रोयल्टीमा छूट हुनसक्छ । नयाँ हिमाल आरोहण खुला गर्ने विषय छन् । उपयुक्त समयमा यी सबै घोषणा हुन्छन् ।

भ्रमण वर्षकै मुखमा राजधानीको सडक, प्रदूषण, ट्राफिक व्यवस्थापनलाई लिएर सर्वसाधारणबाट प्रश्न उठिरहेको छ । तपाईंको कार्यक्षेत्र नभए पनि सहजीकरणमा तपाईंले भूमिका खेल्न सक्नुहुन्छ । यस्ता विषयलाई कसरी सम्बोधन गरिरहनुभएको छ ?

भ्रमण वर्षको सन्दर्भलाई लिएर हामीले अन्तर मन्त्रालय समन्वयलाई जारी राखेका छौं । गृह, भौतिक योजना, सञ्चार, परराष्ट्र, अर्थ मन्त्रालयसहित सरोकारवाला मन्त्रालयसँग निरन्तर छलफल भइरहेको छ । काठमाडौंलगायत पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक मार्गको सुदृढीकरण हुनुपर्छ भनेर हामीले भनिरहेका छौं । पछिल्लो समय भौतिक मन्त्रालय, सडक विभागले आफ्नो सक्रियतामा तीव्रता ल्याएको छ । पक्कै पनि यसले धेरै सुधार हुन्छ ।

सन् २०१८ मा भ्रमण वर्षको तयारी गर्दैगर्दा सन् २०२० सम्म नेपाल एयरलाइन्सले धेरै गन्तव्यमा उडान थाल्छ, गौतमबुद्ध विमानस्थल सञ्चालन हुन्छ, त्यसपछि पूर्वाधार र क्षमताको एक चरण पूरा भइसक्छ भन्ने अनुमान थियो । पर्यटकीय सेवा तथा पूर्वाधार विस्तारको काम त थाती नै रहे नि ?

गौतमबुद्ध विमानस्थलको निर्माणको काम अब धेरै पछाडि छैन । हामीले यसलाई २०१९ को डिसेम्बरभित्र सञ्चालनमा ल्याइसक्ने भनेका थियौं । निर्माण कम्पनीको तर्फबाट भएका केही समस्याका कारणले यसमा ढिलाइ भएकै हो । पछिल्लो दिनमा मन्त्रालयले अर्थ मन्त्रालय, एसियाली विकास बैंकसँग समन्वय गरी समस्या समाधान गरेको छ र अब बढीमा तीन महिनाभित्र यो विमानस्थलको काम सम्पन्न हुन्छ । त्यसको तीन महिनापछि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउँछ ।

करिब २५ करोड बजेट नै छुट्याएर सरकारले त्रिभुवन विमानस्थललाई भ्रमण वर्ष अगाडि नै ‘बुटिक एयरपोर्ट’का रुपमा घोषणा गर्ने तयारी भएको थियो । त्यो तयार भयो ?

बुटिक एयरपोर्ट बनाउने अभियानअन्तर्गत सौन्दर्यीकरणका लागि केही काम भएका छन् । कतिपय काम अझै जारी छन् । तर कतिपय ठूला निर्माणका काम भने अझै पनि सम्पन्न भएका छैनन् । रोकिएर बसेका कामलाई गति दिन पनि मैले प्रयास गरिरहेको छु । छिट्टै बुटिक एयरपोर्टको एक प्रारुप देखिन्छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आकर्षक, सुन्दर र सुविधा सम्पन्न बन्छ ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जाम, डिले र रद्द हुने क्रमले यात्रु दिक्क भइसके, पर्यटकलाई पनि यस्तै सेवा दिने हो कि केही सुधार हुन्छ ?

काठमाडौंको आकासमा हवाईजहाजको जाम हुने वा होल्ड हुने समस्या तत्काल अन्त्य गर्न सकिँदैन । केही हदसम्म घटाउन भने सकिएला । यसकैलागि धावनमार्ग र ट्याक्सीवे जिर्णोद्धारको काम तोकिएको समयभन्दा करिब ३ महिना अगाडि नै सम्पन्न गर्‍यौं । निर्माण कम्पनीले यो आयोजना हस्तान्तरण गरिसकेको छ । यसले आकासको होल्ड वा जामलाई केही घटाउने छ । यसबीचमा पार्किङ क्षेत्र बिस्तार भएको छ । यसले पनि ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछ । थप पार्किङस्थल थपिने क्रममा पनि छन् । तर यसले पनि हामीले सोचेजति व्यवस्थापन गर्न सकिन्न । किनकी यहाँ जुन किसिमले वायुसेवा कम्पनीको चाप छ, जुन किसिमले काठमाडौंले यात्रु दिइरहेको छ, यो क्षमता अब त्रिभुवन विमानस्थलले धान्दैन ।

त्यसैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ, यसको विकल्प छैन भनेर भनेको हो । अब गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल सञ्चालनमा आएपछि १/२ प्रतिशत ट्राफिक त्यता डाइभर्ट होला । तर त्यसले पनि काठमाडौंको समस्या हल हुँदैन । आज त्रिभुवन विमानस्थलको क्षमता बढीमा ९० लाख यात्रु प्रतिवर्ष हो । अहिले नै यसले ७२ लाख यात्रुलाई प्रतिवर्ष सेवा दिइरहेको छ । जबकी नेपालमा वार्षिक औसत १४ प्रतिशतले हवाई यात्रु बढेका छन् । यही वृद्धिदर कायम रहेमा अबको डेढ/दुई वर्षपछि काठमाडौंले यात्रुको चाप धान्न सक्दैन । त्यसपछि पनि काठमाडौंमै बल गरिरहने हो भने ठूलो क्षति हुने खतरा हुन्छ । त्यसेले छिटोभन्दा छिटो निजगढमा जानुको विकल्प छैन ।

भ्रमण वर्षको तयारीमा तपाईं आन्तरिक रुपमा जति खटिनुभयो, विदेशमा हुनुपर्ने कार्यक्रम किन स्वदेशमा भइरहेका छन् भनेर पनि प्रश्न उठ्छ । विदेशमा भएका कामको प्रचार नभएको हो कि, उता प्रवर्द्धनका काम गर्नै बाँकी छ ?

तयारी सबैतिर भएको छ । स्वदेशमा हुने गतिविधिले आन्तरिक रुपमा एउटा माहौल बनाउँछ । पर्यटन व्यवसायी र सरकारको आत्मविश्वास बढाउने काम गर्छ । हामी अहिले स्वदेशमा केन्दि्रत भएको जस्तो देखिए पनि विदेशमा कार्यक्रम नै नभएको होइन । विदेशमा नियमित रुपमा प्रवर्द्धनका काम भइरहेका छन् । विदेशमा हुने प्रवर्द्धनमा कूटनीतिक नियोगमा बढी भर पनि परेका छौं । यसबीचमा हामीले तीन ठाउँमा राजदूतहरुसँग बैठक गरिसक्यौं ।

यूरोपको हकमा इटालीमा राजदूतहरुको भेला गरी उहाँहरुले गर्नुपर्ने कामबारे स्पष्ट निर्देशन दिइसकेका छौं । मध्यपूर्वको हकमा ओमानमा त्यस्तो मिटिङ भएको छ । एसियाको हकमा थाइल्याण्डमा बैठक राखेर हाम्रा राजदूतहरुलाई भ्रमण वर्ष २०२० को सन्दर्भमा गर्नुपर्ने कामहरुको बारेमा स्पष्ट दिशानिर्देशन दिइसकेका छौं । नेपाल सरकारको निर्देशनसमेत परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं । गैरआवासीय नेपाली संघ यस अभियानको एक महत्वपूर्ण साझेदार संगठन हो । उहाँहरुसँग पनि कार्यक्रम सम्झौता गरी विश्वभर गैरआवासीय नेपाली परिचालित भई भ्रमण वर्षमा खटिने वातावरण मिलाएका छौं ।

भ्रमण वर्षको तयारीको शुरुवाती चरणबाटै खटिनु भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ)को अवकासले एक महत्वपूर्ण संस्था अहिले नेतृत्वविहीन छ । उहाँसँग यस अभियानको संस्थागत मेमोरीसमेत थियो । समयमा अर्को सीआईओ छान्न नसक्नुले सरकारको असावधानी देखाएन र ?

सीईओ दीपकराज जोशीको अवकासको समय यही बेला पर्न गयो । यो पूर्वनिर्धारित थियो । तर नेपाल पर्यटन बोर्ड एक संस्थागत संरचना भएका कारणले त्यहाँ अभिछिन्न रुपमा काम भइरहन्छ । भ्रमण वर्षलाई पनि अफ्ठ्यारो नपरोस् भनेर नयाँ कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया पनि अगाडि बढाइसकेका छौं । छनोट समिति बनेर काम अगाडि बढिसकेको छ । प्राप्त आवेदनमा अध्ययन भइरहेको होला । छिट्टै त्यसको नतिजा प्रकाशन भई सीईओ छनोट हुन्छ ।

यो रिक्तताले उदघाटनमा त असर गर्दैन ?

यो अभियानमा लामो समयदेखि सक्रिय रहेका कारण उहाँलाई (निवर्तमान सीईओलाई) काम गर्नुस् भनेका छौं । उहाँले भ्रमण वर्ष सचिवालय, सरकार र बोर्डमा समन्वयको काम गरिरहनु भएको छ ।

तपाईंको मुख्य प्राथमिकतामा परेको र भ्रमण वर्षको सफलतासँग पनि जोडिएको नेपाल एयरलाइन्सको सुधारमा कुनै परिणाम अझै देखिएन । किन होला ?

बिरामी धेरै थला परेको छ, रोग पनि जोखिमपूर्ण छ भने डाक्टरले अप्रेसन गर्दा धेरै होसियारीपूर्वक गर्नुपर्छ । कहिलेकाहीँ डाक्टरको लापरवाहीले बिरामीको मृत्यु हुन सक्छ । नेपाल एयरलाइन्सको अहिलेको अवस्था पनि त्यस्तै हो । त्यहाँ धेरै सुधार गर्नुपर्ने छ । त्यस्तो बेलामा त्यहाँ यसरी हात हाल्नुपर्छ कि त्यहाँ हात हालिसकेपछि झिक्नु नपरोस् । किनकी नेपाल एयरलाइन्समा सामान्य टालटुलले हुनेवाला छैन । त्यहाँ मेजर अप्रेसन गर्नुपर्ने छ र, म उपयुक्त मौकाको प्रतिक्षामा छु ।

सुझाव कार्यदलको प्रतिवेदन आइसकेपछि तपाईंले नेपाल एयरलाइन्समा लिएको एक्सन के हो ?

दुई साता अगाडि मैले कार्यकारी अध्यक्षसहित सबैलाई बि्रफिङका लागि मन्त्रालयमा बोलाएको थिएँ । अहिलेका कार्यकारी अध्यक्षको नियुक्तिका बेला मन्त्रिपरिषदबाट उहाँलाई १२ बुँदे कार्यादेश दिइएको रहेछ । त्यो कार्यादेशको प्रगति के भयो, स्पष्ट तथ्यांकसहित मन्त्रालयलाई जानकारी गराउनुहोस् भनेर मैले मागेको छु । सरकारले कार्यकारी अध्यक्षको भूमिकासहित उहाँलाई एक अभूतपूर्व विश्वाससहित अधिकार दिएको हो । त्यस्तो नेतृत्वले अभूतपूर्व नतिजा देखाउनुपर्छ । किनकी सरकारी संस्थानमध्ये नेपाल एयरलाइन्समा मात्र कार्यकारी भूमिकासहितको अध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्छ । अन्य संस्थानमा मन्त्री वा सचिव सञ्चालक समिति अध्यक्ष हुने प्रावधान हुन्छ ।

भ्रमण वर्ष अभियानलाई पर्यटनबाट हुने आयसँग पनि जोडिन्छ । यो अभियानमा कति खर्च हुन्छ र अर्थतन्त्रमा के उपलब्धी हुन्छ ?

अन्य देशले पर्यटन क्षेत्रमा खर्च गर्ने बजेटको तुलनामा हाम्रो देशको बजेट ज्यादै न्यून छ । यस अभियानमा हामीले ६५ करोड रुपैयाँको बजेट बनाएका छौं, जसमा सरकारबाट १० करोड प्राप्त भएको छ । अन्य रकम विभिन्न स्रोतबाट जुटाउँछौं ।

६५ करोडको बजेट परिचालनबाट २० लाख पर्यटक भित्राउन सकियो भने त्यसले ६५ अर्बसमेत आम्दानी हुनसक्छ । तर अन्य मुलुकको तुलनामा हाम्रो बजेट ज्यादै कम हो । अन्य मुलुकहरुको प्रस्तुति नै निकै माथिल्लो स्तरको छ । बजेट खर्च गर्ने हैसियत नै माथि छ । त्यसको तुलनामा हामीले निकै कम बजेट खर्च गर्नेछौं । जबकी आजको दुनियाँमा बजारीकरण गर्न सकिएन, आफ्ना प्रतिनिधि पठाउन सकिएन, आफ्ना कुराहरु सशक्त ढंगले राख्न सकिएन भने बजारमा तपाईंको हस्तक्षेप नै हुँदैन । त्यसकारण बजेट खर्च हुन्छ । तर बजेटको दुरुपयोग हुनु भएन, गलत काममा त्यसको खर्च हुनु भएन । प्रणालीभित्र बसेर खर्च गर्नु पर्‍यो । हामी त्यसभित्रै छौं ।

पर्यटनमा नेपालको भन्दा प्रतिस्पर्धी क्षमता बढी भएका मलेसिया, इन्डोनेसियासहित केही अपि|mकी मुलुकले समेत सन् २०२० मा भ्रमण वर्ष मनाउँदैछन् । त्यहाँ जाने पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न हाम्रो रणनीति के छ ?

हामीले मुख्य १० गन्तव्यलाई केन्दि्रत गरी प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउने तयारी गरेका छौं । अभियानका दौरान हामी संसारभर पुग्छौं, आफ्नो प्रस्तुति दिन्छौं, तर नेपालमा बढी पर्यटक आउने १० मुख्य बजार छनोट गरी हाम्रो जनशक्ति, प्रचार प्रसार, स्रोत साधन त्यहाँ केन्दि्रत गर्ने योजना बनाएका छौं । यसमा नेपालमा धेरै पर्यटक आइरहेका मुलुक र क्षेत्रहरु पर्दछन् । मलाई विश्वास छ, त्यसले सकारात्मक परिणाम दिनेछ ।

तर भ्रमण वर्षको आधिकारिक वायुसेवा कम्पनीमा नेपाल एयरलाइन्सलाई बेवास्ता गरी विदेशी निजी एयरलाइन्स छनोट गरेको भनेर आलोचना भइरहेको छ नि ?

नेपाल एयरलाइन्सबाहेक कुन कम्पनीले आधिकारिक जिम्मेवारी पायो भन्नेबारे मलाई जानकारी छैन । जानकारी आएपछि के भएको रहेछ म हेरौंला । तर हाम्रो प्राथमिकता नेपाल एयरलाइन्स नै हुन्छ, सरकारी एजेन्सीहरु नै हुन्छन् ।

विदेश जाने कामदारले अनिवार्य भ्रमण वर्षको टी-सर्ट र क्याप लगाउने निर्णय पनि सामाजिक सञ्जालमा निकै आलोचित भइरहेको छ, हेर्नु भएको छ ?

नेपाली जनमतले ज्यादै साँघुरो मानसिकताले सोच्ने गर्छ । यो सोचाइको साँघुरोपन हो, त्यसमा मलाई केही भन्नु छैन । विदेशमा काम गर्न जाने नेपाल भ्रमण वर्षको टी-सर्ट, लोगो, क्याप लगाउँदा भने के बिग्रन्छ ? त्यो त नेपालकै प्रचार हो नि । हामीले प्रचार नै गर्ने हो, उहाँहरुमार्फत पनि नेपाल र भ्रमण वर्षको प्रभावकारी प्रचार हुन सक्छ । यसमा मैले दुई वटा संस्थासँग स्पष्ट ढंगले सहयोगको आह्वान गरेको हुँ, एउटा शैक्षिक परामर्श संघ र अर्को वैदेशिक रोजगार व्यवसायी संघ । शैक्षिक परामर्श संघबाट विद्यार्थी विदेशमा जान्छन्, वैदेशिक रोजगार व्यवसायी संघबाट कामदार बाहिर जान्छन् । कामदार साथीहरुले आफ्ना मालिक, सीईओ, अध्यक्षसँग भ्रमण वर्षका विषयमा दुई वटा कुरा भन्न सक्नुहोला । अझै मैले त भनेको छु, सम्भव छ भने कामदार साथीहरुमार्फत भ्रमण वर्षको गिफ्ट पनि पठाइदिनुस् । शैक्षिक परामर्श संघसँग मैले भनेको छु, कम्तिमा पनि हरेक विद्यार्थीले युनिभर्सिटीका एउटा साथीलाई नेपाल पठाउने वातावरण बनाओस् । विश्वविद्यालयमा आफ्नो प्राध्यापक, साथीभाइसँग नेपालबारे केही राम्रो सन्देश पुर्‍याओस् ।

यसलाई लिएर सामाजिक सञ्जालमा मलाई मेन्सन गरेर लेखिएको मैले पनि हरेको छु । कतिपयले त ‘विदेशबाट आउने लासको बाकसमा भ्रमण वर्षको लोगो राखेको भए हुन्थ्यो नी मन्त्रीज्यू’ भनेर समेत मेन्सन गरेका छन् । यस्तो टिप्पणी देख्दा मलाई दया लागेर आउँछ । मान्छेको मृत्युसँग जोडिएको समवेदनालाई समेत ख्याल नगरी आउने यस्तो टिप्पणी नेपालीले गर्न सक्दैन । यो नेपालीपन नै होइन । किनकी सबै नेपाली हाम्रै दाजुभाइ हुन् । जसको दुःखद निधन हुन्छ, त्यसले देशलाई नै दुख्छ । अनलाईन खवरबाट

Facebook Comments