Wed. May 1st, 2024

प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष

काठमाण्डौं, २०७८ कात्तिक ९ गते मंगलबार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने सर्वोच्चका न्यायाधीशहरूले निष्कर्ष निकालेका छन् । साथै उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्ष पनि निकालेका हुन् ।

आज बिहान प्रधानन्यायाधीश जबरासँग भेट गरेपछि सर्वोच्चका न्यायाधीशहरूले छुट्टै छलफल गरी प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।

बिहान न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनुभएको थियो । उहाँले कसैको दबाब र प्रभावमा आएर राजीनामा नदिने प्रस्ट पार्नुभएको थियो ।

न्यायाधीशहरूले भोलि बुधवार बिहान फेरि छलफल गर्ने भएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशको भेट तथा छलफलका कारण आज पनि सर्वोच्चमा इजलास प्रभावित भएको छ ।

यसैबीच संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । नागरिकको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फूर्त रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न प्रधानन्यायाधीशले सहज निकास दिनुपर्ने मञ्चका अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments