Thu. May 2nd, 2024

बार सल्लाहकारहरूकाे एक मत : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ, नभए देशव्यापी आन्दाेलन

काठमाण्डौं, २०७८ कात्तिक ९ गते मंगलबार । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट न्यायधीशहरुको सम्बन्धमा मंगलबार बसेको नेपाल बार एशोसियशनको सल्लाहकार समितिले प्रधानन्याधीशको राजीनामा माग गर्नुपर्ने सुझाव प्रदान गरेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज मङ्गलवार नेपाल बार एसाेसिएशन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरू न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने भन्दै तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

कानुन व्यवसायीहरू प्रधानन्यायाधीश जबराको राजीनामाको पक्षमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । जबरा प्रधानन्यायाधीश रहुन्जेल कानुन व्यवसायीहरूले बहस नगर्ने भन्दै उहाँले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताउनुभयो ।

अधिवक्ता टीकाराम भट्टराईले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पूरा गर्न नसकेको र उहाँको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकाको गरिमा र प्रतिष्ठा पनि उहाँले गिराउनु भयाे । त्यसैले उहाँको निरन्तरताले न्यायपालिकाको गरिमा र प्रतिष्ठा झन् खस्किने हुनाले उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने सुझाव रह्यो ।’

प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा नदिएमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिनुभयो । उज्यालो अनलाईन

Facebook Comments