Sat. Sep 21st, 2024

सुडानमा गैरसैनिक सरकार विघटन, नेताहरू गिरफ्तार

काठमाण्डौं, २०७८ कात्तिक ८ गते सोमबार । सुडानको सेनाले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेको छ।

गैरसैनिक नेताहरूसँग संयुक्त परिषद्को नेतृत्व गरेका सैनिक जनरल अब्देल फतह बुर्हानले राजनीतिक झैझगडालाई दोष दिएका छन्।

आन्दोलनकारीहरू सडकमा ओर्लिएको राजधानी खार्तुममा गोली चलेको आवाज सुनिएका विवरण आएका छन्।

लामो समय सुडानमा शासन गरेका ओमार अल‍-बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको छ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा जारी अन्तर्राष्ट्रिय सहयोगहरू सैन्य शासनपछि जोखिममा पर्ने ठानिएको छ।

उत्तरी अफ्रिकी देशको राजधानीबाट सोमवार देखिएका भिडिओहरूमा प्रदर्शनकारीहरू सैनिक मुख्यालय नजिकको क्षेत्रमा प्रवेश गरेको देखिन्छ।

एकजना प्रदर्शनकारीले एएफपी समाचार संस्थासँग “देशको प्रजातान्त्रिक रूपान्तरणका लागि ज्यान दिन पनि तयार रहेको” बताएका छन्।

प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई गैरसैनिक नेताहरूसँगै नजरबन्दमा राखिएको बताइएको छ।

सूचना मन्त्रालयको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा पक्राउ परेकाहरूलाई अज्ञात स्थलमा राखिएको उल्लेख छ।

हमदुकलाई सैन्य कूका लागि दबाव दिइएको तर उनले त्यसलाई अस्वीकार गर्दै जनताहरूलाई शान्तिपूर्ण क्रान्तिका लागि आह्रान गरेको बताइएको छ।

सैनिक जनरल बुर्हानले सेना र नागरिक नेताहरूबीचको शक्ति बाँडफाँट अन्तर्गत गठित सार्वभौम परिषद्‌को नेतृत्व गरिरहेका छन्। बीबीसी

Facebook Comments