Sat. Apr 27th, 2024

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जानु हुने

काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । गत साता परेको अविरल वर्षा र त्यसलगत्तै आएको ठूलो बाढी तथा पहिरोबाट प्रदेश नम्बर १ मा परेको असरको बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न आज विहान पूर्वी नेपालको भ्रमणमा जानुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरुमार्फत क्षतिको जानकारी लिने र पीडितहरुलाइ सम्बोधन गर्ने कार्यक्रमका साथ प्रदेश १ को भ्रमणमा जानु हुने भएको हो ।

प्रदेश १ को भ्रमणको क्रममा प्रधानमन्त्री देउवा आज विहान हेलिकोप्टरमार्फत सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी वल मुख्यालय बराह वाहिनी जाने कार्यक्रम रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीलाई उद्धत गर्दै गोरखापत्र अनलाईनले समाचार लेखेको छ । गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री देउवाले पकलीमा सुनसरी जिल्लामा भएको क्षति तथा नोक्सानीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका पदाधिकारीहरुबाट बिफ्रिङ लिने कार्यक्रम रहेको छ । त्यसपछि इलाम र पाँचथर जिल्लामा पहिरोगस्त क्षेत्रको हवाइ अवलोकन गरी राँके बजारमा प्रशासनिक तथा सुरक्षा पदाधिकारीमार्फत पहिरोग्रस्त क्षेत्रको जानकारी लिने साथै पीडितहरुलाइ भेट्ने कार्यक्रम रहेको छ ।

यसै वीच प्रधानमन्त्री देउवा इलाम र पाँचथरको सीमाना राके बजार आएर बाढी पीडितलाई सम्बोधन गर्नु हुँने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी बहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले इलामको फाकफोकथुम ,माङसेबुङ र चुलाचुली गाउँपालिकाका तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । बाढी पहिरोका कारण पाचँथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको थियो । इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिका सबै भन्दा बढी प्रभावित क्षेत्रको रुपमा रहेको छ । प्रधानमन्त्री देउवाले वर्षासँगै उत्पन्न बाढी, पहिरो, डुबानबाट सुनसरी, इलाम र पाँचथर जिल्लामा भएको क्षतिको स्थलगत निरीक्षण अवलोकन गरेर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको थियो। सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ।

Facebook Comments