Fri. Apr 26th, 2024

बडादशैं अन्तर्गत आज महानवमी मातादुर्गा भवानीको पूजा आराधना गरिदै

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । बडादशैं अन्तर्गत आज महानवमी मातादुर्गा भवानीको भव्य रुपमा आस्था अनि भक्तिपूर्वक पूजा आराधना गरिदैछ ।

आश्विन शुक्ल नवमीका दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाउने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गएको वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने छ । गएराति राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको थियो।

Facebook Comments