Mon. May 6th, 2024

कास्कीको घान्द्रुक नजिकै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार । कास्कीको घान्द्रुक नजिकै भएको जीप दुर्घटनामा आठ जनाको ज्यान गएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप आज साेमवार दिउँसाे कलाभिरमा दुघर्टना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरूमध्ये एक जना चालक रहेका छन् भने सात जना काठमाण्डौबाट घुम्न गएका युवायुवती रहेका छन् ।  दुर्घटनामा परेर ज्यान गुमाउनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलका ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाण्डाै महानगरपालिका ३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, त्यही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भइ काठमाण्डाै गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

दुर्घटनामा काठमाण्डाै महानगरपालिका-३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । भिरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँ जीपको झ्याल खोलेर हाम फाल्दा बाँच्न सफल भएको प्रहरीले जनाएको छ । उज्यालो अनलाईन

Facebook Comments