Sat. May 4th, 2024

३३ किलाे सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला

काठमाण्डौं, २०७८ असोज १९ गते मंगलबार । जिल्ला अदालत मोरङले ३३ केजी सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती(गोरे) सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले आज गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई  ६ महिना कैद तोकिएको छ ।

मुद्दाको अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको स्रेस्तेदार टिकेन्द्रवीरजं राणाले जानकारी दिनुभयो ।

त्यस्तै कूल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको स्रेस्तेदार राणाले बताउनुभयो । त्यसबाहेका बाँकी प्रतिवादीको कुनैपनि कसुर पुष्टि नभएकाले इजलसले सफाइ दिएको उहाँले बताउनुभयो ।

गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि एक महिना भित्रमा पुनः पेसी हुने इजलसले सुनुवाइ गरेको उहाँले बताउनुभयो ।

मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने उप्रेतीसहित ७७ जना थिए । उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपियाँ ९० पैसा बिगो माग गरिएको थियो ।

Facebook Comments