Fri. May 17th, 2024

मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिन सक्ने एपलको चेतावनी

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिन सक्ने भन्दै एपलले चेतावनी दिएको छ । साथै शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव पनि दिएको छ।

एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्छ। म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि ‘अप्टिकल-इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड-लूप अटोफोकस’ प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको ‘माउन्ट’ प्रयोग गर्न सुझाव दिइएको छ। विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।

एपलले विभिन्न मोडलका आईफोनमा क्षति हुने जोखिम भएका जनाएको छ। बीबीसी

Facebook Comments