Sat. Jul 27th, 2024

उपप्रधानमन्‍त्री यादव र सहरी विकासमन्‍त्री राई द्वारा राजीनामा

काठमाडौं, २०७६ पुष ८ गते मंगलबार ।

समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिनुभएको हो। मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिनुभएको हो।

अन्नपूर्ण पोष्टका अनुसार सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको व्यवस्थाअनुसार राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराउनु भएको छ। उपप्रधानमन्त्री यादवले भने सोमबारको मन्त्रिपरिषद्‍मा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले २०७५ जेठ १४ गते संविधान संशोधनलगायत माग र मुद्दामा सम्बोधन गर्ने शर्तसहित सरकारका सहभागी भएको र शर्त पूरा नभएपछि राजीनामा दिएको समेत विज्ञप्तिमा जनाउनु भएको छ ।

‘मिति २०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न प्रस्ताव उपप्रधानमन्त्री एवम् कानुन, न्याय, तथा संसदीय मामिलामन्त्रीको हैसियतामा मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुई बुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहनु औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राज्निामा दिएको ब्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी सहरी विकासमन्त्री राईले सहकार्य गर्ने अवसर दिएकोप्रति सरकारलाई धन्यवाद दिँदै राजीनामा दिनुभएको छ। ‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा राईले लेख्नु भएको छ, ‘सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु।’

Facebook Comments