Sun. Apr 6th, 2025 07:08:43

कलाकार निशा घिमिरेको निधन

काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक हस्पिटलका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उहाँका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहनु भएकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उहाँको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थिर नै रहेको थियो ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भन्नुभयो, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

Facebook Comments