Sat. May 18th, 2024

ओसामा बिन लादेनका सहयोगी अफगानिस्तान फर्किएको आशङ्का

काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । अफगानिस्तानको नाङ्गहार प्रान्तमा एउटा कारमा गत साता देखिएका व्यक्ति अलकायदा नेता ओसामा बिन लादेनका सबैभन्दा नजिकका सहयोगी रहेको आशङ्का गरिएको छ।

अमिन उल हक २० वर्षअघि लादेनका प्रमुख सुरक्षा अधिकारी रहेका थिए। उनी हतियारखरिद सम्बन्धी कामका प्रमुख समेत भएको बताइन्छ।

सन् २००१ को सेप्टेम्बर ११ पछि अमेरिकाले उनलाई आतङ्कवादीको सूचीमा राख्यो र उनी पाकिस्तान पुगे। त्यहाँ उनले तीन वर्ष जेलमा बिताएको बताइन्छ।

नाङ्गहार प्रान्तमा उनको फिर्ती पुष्टि भए त्यसले पश्चिमा विश्वलाई झस्काउने बीबीसीका सुरक्षा संवाददाता फ्रयाङ्क गार्डनर बताउनु हुन्छ ।

तालिबानले आश्वस्त पारे पनि अफगानिस्तान पुनः अन्तर्राष्ट्रिय आतङ्कवादको क्रिडास्थल बन्न सक्ने सम्भावना त्यसले दर्साउँछ।

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एउटा प्रतिवेदनले तालिबान र अलकायदाबीच बलियो जातीय र वैवाहिक सम्बन्ध रहेको देखाएको थियो।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिइसकेको अवस्थामा पश्चिमा देशका प्रतिआतङ्कवाद निकायहरूसँग अफगानिस्तानको दुर्गममा अवस्थित अलकायदा र अरू लडाकु अखडाहरू पहिचान गर्न सक्ने मानवीय सूचनाको आधार छैन।

अमेरिकी फौज फिर्तीसँगै तालिबान बलियो भएकोबाट पश्चिमा देशका गुप्तचर निकायहरू चिन्तित भएको विवरण आएका छन्।

सुरक्षा र आतङ्कवादसम्बन्धी विश्लेषक सज्जन गोहेलका अनुसार अफगानिस्तानको सत्ता तालिबानको नियन्त्रणमा पुगेसँगै त्यसले अलकायदालाई आफ्नो सञ्जाल पुनर्निर्माण गर्ने मौका दिनेछ।

त्यो विस्तारले उक्त सङ्गठनको क्षमता अफगानिस्तानमा बसेर विश्वको जुनसुकै कुनैमा आक्रमणको योजना बनाउने तहमा पुग्न सक्ने उनको टिप्पणी छ।

पश्चिमा फौजको बहिर्गमनपछि अलकायदा र उसको प्रतिद्वन्द्वी इस्लामीक स्टेट आईएसको स्थानीय समूले लाभ लिन प्रयास गर्ने बताइएको छ।

हाल दुवै सङ्गठनहरू अफगानिस्तानमा छन् र पहाडी भूगोलका दुर्गम क्षेत्र भएकोले त्यहाँ अन्तर्राष्ट्रिय रूपमा आतङ्कवादी सङ्गठनलाई लुकेर गतिविधि गर्न थुप्रै अखडाहरू उपलब्ध हुने देखिन्छ। बीबीसी

Facebook Comments