Mon. Dec 23rd, 2024

अमेरिकी सेनाले अफगानिस्तानमा के-के छोड्योर? तालिबानको हातमा के पुग्यो ?

काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई विमानस्थलमा अमेरिकी सेनाले छोडेका सैन्य सामग्रीसँग तालिबानले खिचेका तस्बिरहरू सार्वजनिक भएका छन्।

अगस्ट ३१ को समयसीमाअगाडि नै स्वदेश फर्किएको अमेरिकी सेनाले ७३ वटा हवाईजहाज, झन्डै १०० वटा गाडी र अन्य उपकरणहरू छोडेर गएका थिए।

तर यूएस सेन्ट्रल कमान्डका प्रमुख जेनरल केनेथ मक्केन्जीले ती उपकरणहरू प्रयोग गर्न नसकिने बनाएर छोडिएको दाबी गर्नुभएको छ ।

“ती हवाईजहाजहरू फेरि कहिल्यै उड्नेछैनन्,” उहाँले भन्नुभयो ।

काबुलमा छोडिएका हवाईजहाजहरू यस्ता छन्:

  • नजिकैबाट आक्रमण गर्न प्रयोग गरिने एमडी-५३० हेलिकप्टर
  • ए-२९ हलुका लडाकु विमानहरू

    यो वर्षको जुनमा अफगान सशस्त्र बलसँग अमेरिकाले दिएका निम्म सङ्ख्याका हवाईजहाज थिए

    • ४३ वटा एमडी-५३० हेलिकप्टर
    • २३ वटा ए-२९ विमान

    यी सबै उपकरणको मूल्य स्पष्ट छैन। तर एउटा ए-२९ को मूल्य एक करोड अमेरिकी डलरभन्दा बढी पर्ने बताइएको छ।

    एलए टाइम्सका संवाददाता नबिह बुलोसले खिचेको एउटा भिडिओमा तालिबान लडाकुहरू मालवाहक सीएच-४६ सी नाइट हेलिकप्टरसँग देखिएका छन्।

    अमेरिकाले काबुलको दूतावासबाट कर्मचारी उद्धार गर्न प्रयोग गरेका सातवटा सी नाइट हेलिकप्टरहरू प्रयोग गर्न अयोग्य बनाएर छोडिएको बताइएको छ।

    तस्बिरहरूमा विमानस्थलमा कम्तीमा एउटा सी-१३० हर्कुलिस मालवाहक विमान देखिएको छ।

    मक्केन्जीका अनुसार एम्बुसबाट सुरक्षित ७० वटा गाडी पनि प्रयोग गर्न नमिल्ने बनाएर छोडिएको छ।

    एउटा त्यस्तो गाडीको मूल्य पाँचदेखि १० लाख अमेरिकी डलर पर्ने बताइएको छ। काबुलमा छोडिएका अन्य सामग्रीहरू यस्ता छन्:

    • २७ हम्भी सैन्य गाडी
    • रकेट आक्रमणबाट बचाउने सामग्रीहरू

    केही उपकरणहरू विस्फोटक पदार्थ प्रयोग गरेर प्रयोग गर्न नमिल्ने बनाइएका छन्। काबुलबाहेक अन्य स्थानमा भने अफगान सैनिकहरू आफूले प्रयोग गरेका उपकरणहरू बिगार्ने प्रयास नगरी भागेका थिए।

    स्याटलाइटबाट खिचिएका तस्बिरहरूमा केही हवाईजहाजहरू तालिबानले नियन्त्रणमा लिनअघि छिमेकी उज्बेकिस्तानसम्म पुर्‍याइएको देखिएको छ।

    विज्ञहरूले छोडिएका केही हवाईजहाजहरू चालक, मर्मत र जगेटा पार्टपुर्जाको अभावमा तालिबानका लागि धेरै उपयोगी नहुने बताएका छन्।

    स्पष्ट सङ्ख्या भन्न नसकिए पनि अफगान सेनाले प्रयोग गरेका ३३ यूएच ब्ल्याक हक हेलिकप्टरसहित १६७ हवाईजहाजहरू अहिले तालिबानको हातमा पुगेको अनुमान गरिएको छ।

    अनि तालिबानहरूले अन्य अमेरिकी उपकरणहरू प्रयोग गर्न थालिसकेको देखिएको छ। काबुलमा तालिबान लडाकुहरू एम४ राइफलसहित देखा परेका छन्।

    अमेरिकाले सन् २०१७ को डिसेम्बरदेखि सन् २०२० को एप्रिलसम्म अफगान सेनालाई २,५०० हम्भी उपलब्ध गराएको तथ्याङ्क छ।

    एउटा हम्भीको मूल्य दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी पर्ने जनाइएको छ। विज्ञहरूले अमेरिकाले अफगान सेनालाई उपलब्ध गराएको १६०,००० नाइटभिजन चस्मा पनि तालिबानका लागि उपयोगी हुने बताएका छन्। बीबीसी

Facebook Comments