Fri. May 10th, 2024

अगफान द्वन्द उत्कर्षमा, नेपाली कामदारलाई स्वदेश फर्किन सरकारको आग्रह

काठमाण्डौं, २०७८ साउन २९ गते शुक्रबार । अफगानिस्तानमा सरकारी सेना र तालिबान विद्रोहीबीचको संघर्ष चरम उत्कर्षमा पुगे लगत्तै विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता बोलाइरहेका छन् । तर नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ। “अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ,” काठमाडौंस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो ।

विदेशी सैनिकहरू अफगानिस्तानबाट फर्किन थालेपछि अहिले तालिबान लडाकुहरूले महत्त्वपूर्ण सहर र स्थानहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन्। विभिन्न स्थानमा सङ्घर्ष जारी छ।

काबुलमा कहाँ छन् नेपाली?

अधिकांश नेपालीहरू राजधानी काबुलस्थित कूटनीतिक र सरकारी कार्यालयहरू भएको क्षेत्रमा कार्यरत रहेकाले अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। ग्रीन जोन भनिने उक्त क्षेत्रलाई सबैभन्दा सुरक्षित मानिन्छ।

त्यहाँ १०० जनाको हाराहारीमा नेपालीहरू रहेको जानकारी आफूसँग रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ। गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको हालै काबुलबाट काठमाडौं फर्किएका एक नेपालीले बताएका छन्।  विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो। बीबीसी

Facebook Comments