Mon. Dec 23rd, 2024

प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकियो

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको छ । राष्ट्रपति भण्डारीले यही साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नुभएको छ ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उहाँले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्नुहुने भएकाले ज्येष्ठताका क्रममा रहनुभएका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments