Mon. Dec 23rd, 2024

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने

काठमाण्डौं, २०७८ साउन १७ गते आईतबार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीकाअनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल, रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल पनि गठन भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । सो प्रस्तावलाई अन्तिम रुप दिन आगामी हप्ता केन्द्रीय कमिटी बैठक आव्हान गर्ने निर्णय पनि गरेको छ ।

सोहीअनुसार आगामी असोज पहिलो हप्तासम्म देशभरीका पार्टीका वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्तासम्म सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेकोबेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित घटनाको निन्दा गरेको छ । घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न र भारतीय पक्षसँग जानकारी माग गर्न सरकारसँग आग्रह गरेको छ । नेता ज्ञवालीकाअनुसार दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन एमालेले सरकारको ध्यानाकर्षण गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments