Thu. Apr 25th, 2024

आज साउन १५, घर घरमा खिर खाएर मनाईदै

काठमाण्डौं, २०७८ साउन १५ गते शुक्रबार । आज साउन १५ गते । परापूर्वकालदेखिनै नेपाली समाजमा यस दिन घर घरमा खिर खाएर साउन पन्ध्र पर्व मनाईन्छ । वर्षा याममा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन छ । यसै मान्यता अनुसार आज घर घरमा खिर पकाएर खाँदै यो पर्व मनाईएको छ । नेपाली समाजमा खिरलाई मिठो, मसिनो अनि पवित्र भोजनको रुपमा लिईन्छ । नेपालको पहाडी क्षेत्रमा सामान्यतया दूधमा चामल, घिउ र चिनि हालेर खिर पकाउने चलन छ । तर तराई मधेस र काठमाडौं उपत्यकामा भने वर्षौदेखि खिर पकाउदा दूधमा चामल, घिउ, चिनि, नरिवल, किसमिस, काजु लगायतका मसलाहरु हाल्ने चलन छ ।

कृषि प्रधान देश नेपालमा साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन शुरु भएको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्रद्धाका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

यसै वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले खिर दिवसका रुपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोनाजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने बोर्डले जनाएको छ ।

Facebook Comments