Wed. May 15th, 2024

किसान पृष्ठभूमिका प्राथमिक विद्यालयका शिक्षक पेद्रो कास्टियो पेरुका राष्ट्रपति निर्वाचन

काठमाण्डौं, २०७८ साउन १४ गते बिहीबार । लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिनु भएको छ । उहाँको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ।

पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिनु भएका पेद्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किनु भएको थियो । बाल्यकालमा उहाँ विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी हिँड्नुपर्थ्यो।

अन्तत: उहाँ एउटा विद्यालयका शिक्षक बन्नुभयो र पच्चिस वर्ष काम गर्नुभयो। पछि उहाँ शिक्षक युनियनको नेता बन्नुभयो । नेतृत्वमा तेजस्वी वृद्धिका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव विनै यस वर्ष कास्टियो पेरुको राष्ट्रपति चुनिनु भएको छ ।

कास्टियोको विजयमा उहाँ हुर्किएकै जस्तो ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनले मुख्य भूमिका खेलेको बताइन्छ। उहाँका चुनावी र्‍यालीहरूमा “एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन्” भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो। त्यसले त्यो सन्देश मार्फत सङ्घर्षशील पेरुवासीलाई उहाँले आवाज दिएको रूपमा हेरियो।

“मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो,” उहाँले एक पटक भन्नु भएको थियो । कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्नुभएको छ ।

उहाँले देशलाई बहुसङ्ख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्नुभएको छ र गरिबी तथा असमानतालाई सम्बोधन गर्न “ठूलो परिवर्तन”का लागि आह्वान समेत गर्नुभएको छ ।

त्यसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने कुरा पनि छ। कास्टियोका विरोधीहरूले उहाँलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोसिस गरेका थिए।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिनु भएको हो। उहाँले प्राथमिक विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गर्नुभएको थियो ।

कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । त्यस बेला उहाँ मेयरमा उठेर हार्नु भएको थियो। सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनबाट उहाँ नेताको रूपमा उदाउनु भयो।

सहरी क्षेत्रमा खासै नचिनिनु भएका कास्टियो यो वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभयो र पहिलो चरणको निर्वाचनमा विजयी हुनुभयो र अन्य १७ उम्मेद्वारलाई दौडबाट बाहिर पारिदिनु भयो। त्यो धेरैको आशा विपरीत थियो।

उहाँले पूर्व राष्ट्रपति अल्बेर्ट्रो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति निर्वाचित हुनुभयो । उहाँ निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मतले मात्र विजयी हुनुभएको छ । बीबीसी

Facebook Comments