Thu. Apr 18th, 2024

बिक्री नहुँदा ८० करोडको दूध र मख्खन गोदाममा थन्कियो

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरले किसानबाट खरिद गरेको ठूलो परिमाणमा दूध र मख्खन गोदाममा थन्किएको छ । कोरोना संक्रमणका कारण लकडाउन हुँदा बिक्री वितरण नभएपछि झण्डै ८० करोड बराबरको दूध र दूधजन्य पदार्थ गोदाममा थन्किएको हो ।

दुग्ध विकास संस्थान, नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरका अनुसार कोरोना संक्रमणका कारण दूध र दूधजन्य पदार्थ बिक्री नभएपछि ९ सय मेट्रिक टन पाउडर दूध र ४ सय मेट्रिक टन मख्खन आयोजनाको गोदाममा थन्किएको छ । आयोजना प्रमुख योगेन्द्र शाहले उत्पादित दूध र दूधजन्य बस्तु बिक्री नहुँदा किसानहरुलाई चार महिनादेखि दूधको भुक्तानीसमेत पाउन नसकेको बताउनु भयो । “किसानहरुलाई दूधको भुक्तानी दिन सकेको छैन” उहाँले भन्नुभयो, “संस्थानलाई आर्थिक भार परेको छ ।”

गत आर्थिक वर्षमा २२ लाख ११ हजार लिटर दूध संकलन भएको आयोजनाले जनाएको छ । संस्थानको अन्तर आयोजनाले पठाएको १८ लाख १५ हजार ७ सय ५ लिटर दूधको पाउडर र मख्खन बनाई त्यसबाट किसानलाई ९ करोड ८७ लाख ३७ हजार ४ सय ६५ भुक्तानी गरिसकेको आयोजनाको भनाइ छ । बाँकी ऋण तिर्न समस्या भएपछि दुग्ध विकास संस्थानले सरकारवाट २० करोड रुपैयाँ ऋण लिएर फागुनदेखि चैतसम्मको भुक्तानी गरेको छ । अब भुक्तानी दिन बाँकी १ करोड २८ लाख ७५ हजार एक सय रुपैयाँ यही साउन महिनाभित्र किसानलाई भुक्तानी गरिसक्ने आयोजना प्रमुख शाहको भनाइ छ । “जुन सिजनमा व्यापार हुन्छ त्यहीबेलामा कोरोना आएर पसल व्यवसाय बन्द हुँदा समस्या भएको हो” उनले भने, “यसको लागि गोदाममा रहेको मख्खन पाउडरलाई राख्ने व्यवस्था मिलाउन राज्यले कोल्ड स्टोर लगायतमा लगानी गर्नुपर्छ ।”

यता चैतदेखि असारसम्मको एक करोड बढी रकम भुक्तानी नपाउँदा दूध बेचेर जीविकोपार्जन गर्दै आएका कृषक तथा सहकारी संस्थाहरु मर्कामा परेका छन् । कोरोनाका कारण लामो समय बजार बन्द रहनु र समयमा किसानको घरमा दूध लिन डीडीसीको ट्यांकर नजाँदा दूध बिक्रीमा समस्या झेलेका कृषकले बिक्री भएको दूधको भुक्तानी नपाउँदा झन मर्कामा परेको बताए । डुडुवा ३ का भैंसीपालक कृषक रामसोहावन यादवले बिक्री गरेको दूधको भुक्तानी नपाउँदा निकै समस्या भएको बताउनु भयो ।

किसानहरुले एकातिर भारतीय बजारबाट खुल्ला रुपमा आउने दूध र दुग्ध जन्य पदार्थसँग प्रतिष्पर्धा गर्न सकेका छैनन् भने अर्कोतर्फ बिक्री गरेको दूधको समेत सरकारी निकायबाटै लामो समयदेखि भुक्तानी पाएका छैनन् । यस्तो अवस्था आउँदा व्यवसायीक रुपमा दूध उत्पादन गर्दे आएका कृषकहरु धरासायी हुने अवस्थामा पुगेको भगवती दुग्ध उत्पादक सहकारी संस्था बढैयातालका सञ्चालक इन्द्रप्रसाद लुइँटेलले बताउनु भयो ।

आयोजनाले उत्पादन गरेका दुग्धजन्य वस्तु बजारीकरणका लागि पटक पटक समस्या आइरहेपनि राज्यले ठोस कदम चाल्न सकेको छैन । जसका कारण करोडौको दूध र दूधजन्य पदार्थ गोदाममै थन्किने अवस्था आएको छ भने व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरु निरास बनेका छन् । कारोबार अनलाईन

Facebook Comments