Fri. Apr 19th, 2024

पार्टी एकताको पक्षमा अन्तिम समयसम्म पनि उभिने एमालेको निर्णय

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । आज ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकेसम्म समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीभित्र विद्यमान आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको ज्ञवालीको भनाइ छ । आजको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका लागि बनेको कार्यदलले गरेका प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो ।

बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदको कारबाहीको विषयमा कुनै छलफल गरेन। माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाइसकेकाले जवाफ नआउन्जेल केही बोल्न नमिल्ने प्रवक्ता ज्ञवालीको भनाइ छ ।

Facebook Comments