Sat. May 18th, 2024

देउवालाई मत दिनेहरूलाई कारबाही नगर्ने हो भने एमाले सिद्धिन्छ : ओली

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएकाे छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।

बैठकको ब्यानरमा दशौँ केन्द्रीय कमिटी बैठक लेखिएको छ । दशौँ केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको एमालेले जनाएको छ । आजको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय अटेरी गर्दै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिनेहरूमा नैतिकता र पार्टीप्रति कुनै जिम्मेवारी नभएको आरोप लगाउनुभयो ।

ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने र अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीका लागि लाजमर्दो विषय भएको भन्दै उनीहरूलाई यत्तिकै छाड्न नमिल्ने बताउनुभएको छ । बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही नगर्ने हो भने एमाले नै सिद्धिने ओलीको भनाइ छ ।

हिजो आइतवार पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए भने ११ जना अनुपस्थित भए । माधव नेपाल समूहका १४ र ओली समूहका आठ जनाले देउवालाई विश्वासको मत दिएका हुन् ।  उज्यालो अनलाईन

Facebook Comments