Sun. May 5th, 2024

सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घाेषणा गर्ने सरकारकाे निर्णय

फाईल फोटो

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । सरकारले सिन्धुपालाञ्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी द्रुत गतिमा काम गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीसमेत रहनुभएका प्रवक्ता कार्कीले भन्नुभयो, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ ।’

नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाई सरकारले धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराइदिनका लागि खोप उत्पादक मित्र राष्ट्रलाई आग्रह गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी, सोमबारको मन्त्रिपरिषदले इस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सञ्चारकर्मीहरुको एक अर्काे जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, ‘अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरिएको छ ।’

त्यसैगरी, सरकारले भारतसँगको हवाई यातायातलाई सहज बनाउन हप्तामा थप हवाई उडानका लागि अनुमति दिने निर्णय पनि गरेको छ । विगतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले भारतलगायतका अन्य मुलुकसँग हवाई उडान सेवा बन्द गरेको थियो । केही समयअघि भारतसँग हप्ताको दुईवटा उडानका लागि सरकारले अनुमति दिएको थियो भने अब हप्तामा छ वटा उडान गरिने बताइएको छ ।

Facebook Comments