Sat. Sep 28th, 2024

हत्या गरिएका राष्ट्रपति जोभेनलकी श्रीमती हाइटी फिर्ता

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार ।  हत्या गरिएका हाइटीका राष्ट्रपति जोभेनल मोइजकी श्रीमती मार्टिन मोइज स्वदेश फर्किनुभएको छ । गत ७ जुलाईमा राष्ट्रपति निवासमा भएको आक्रमणमा राष्ट्रपति जोभेनलको मृत्यु भएको थियो भने सोही क्रममा मार्टिन गम्भीर घाइते हुनुभएको थियो ।

अन्तराष्ट्रिय सचांर माध्यमका अनुसार हाइटीका अधिकारीहरुले एक ट्वीट गर्दै मार्टिन अर्को साता गरिने श्रीमानको अन्तिम संस्कारको तयारीका लागि हाइटी आउनुभएको जनाइएको छ ।

राष्ट्रपति निवासमा भएको आक्रमणमा मार्टिन घाइते हुनुभएको थियो र उहाँलाई थप उपचारका लागि मार्टिनलाई अमेरिकाको फ्लोरिडा लगिएको थियो ।

अमेरिकामा रहेर उपचार गराई रहनु भएकी मार्टिनले अस्पतालको शैय्याबाट एक अडियो सन्देश सार्वजनिक गर्दै मध्यरातमा हत्याराहरुले गोली बर्साएपछि गोली लागेर राष्ट्रपति जोभेनलले एक शब्दसमेत बोल्न नपाउँदै ढल्नुभएको उल्लेख गर्नुभएको थियो । उक्त पीडा आफूभित्र अझै विद्यमान रहेको उहाँले बताउनुभएको थियो ।

५३ बर्षीय राष्ट्रपति जोभेनल सन् २०१७ देखि हाइटीको राष्ट्रपति हुनुहुन्थ्यो । राष्ट्रपति जोभेनलको हत्याको आरोपमा हालसम्म २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनजनालाई प्रहरीले मारेको छ । पाँच जना अझै फरार छन् । आक्रमणको विस्तृत विवरण अझै रहस्यमै छ ।

हाइटी प्रहरीले राष्ट्रपति जोभेलनको हत्या २६ कोलम्बियन र २ हाइटी मुलका अमेरिकनको समूहले मिलेर गरेको जनाएको छ । एजेन्सी 

फोटोः रोयटर्स

Facebook Comments