Sat. May 18th, 2024

प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिको पत्रलाई लिएर विवाद, देउवासहित शीर्ष नेता छलफलमा

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिको पत्रलाई लिएर विवाद भएको छ । प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गर्नुभएको हो । देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको थियो । तर, प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेशअनुसार भनेर लेखिएको व्यहोरा सच्याउनुपर्ने माग देउवाले गरेपछि शपथ हुन नसकेको हो ।

राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । कान्तिपुर अनलाईन

Facebook Comments