Fri. May 17th, 2024

नेकपा एमाले भित्रको विवाद मत्थर हुँदै, ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

काठमाडौं, २०७८ असार २७ गते आईतबार । नेकपा एमाले भित्र गत पुष ५ गतेदेखि चुलिएको चरम विवाद मत्थर हुने संकेत देखिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी केही समय पहिले मात्र १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आज आइतबार विहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले अन्ततः सहमति जुटाउन सफल हुनुभएको हो ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । पार्टीलाई एकतावद्ध र सुदृढ बनाउन कार्यदल सफल भएको उहाँले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यदलले २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरुलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

पार्टीको एकता मर्यादाअनुसार अघि बढ्ने सहमति पनि बैठकले गरेको छ । अध्यक्ष ओलीद्वारा आव्हान गरिएको भोलि सोमबारको स्थायी कमिटी बस्ने र कार्यदलले गरेको निर्णय अनुमोदन गर्ने नेताहरुले बताउनुभएको छ । भोलि आउने सर्वोच्चको निर्णयपछि पनि पार्टी सहमतिअनुसार एकतावद्ध रुपमा अघि बढ्ने निर्णय कार्यदलले गरेको छ ।

कार्यदलका सदस्यहरुले आज १० बुँदे सहमति जुटाए पनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको निर्णयअघि कुनै सहमति हुन नसक्ने प्रतिक्रिया दिनुभएको थियो । आज आफू निकट केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गर्दै नेता नेपालले सो धारणा राख्नुभएको उहाँ निकट नेताहरुले जानकारी गराउनुभएको थियो ।

Facebook Comments