Fri. Apr 19th, 2024

प्याब्सन विराट कपको उपाधि एभरेष्ट स्कूललाई

विराटनगर, २०७६ पुष १ गते मंगलबार ।

प्याब्सन विराट कप फूटबल टुर्नामेन्टको उपाधि विराटनगरस्थित एभरेष्ट बोर्डिङ्ग स्कूलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा डनबस्को स्कूललाई सडन डेटमा ५–४ गोलले पराजित गरि एभरेष्टले उपाधि जितेको हो ।

निर्धारित समयसम्म गोल रहित खेल बराबरी र टाईब्रकेरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेटबाट छिनोफानो भएको थियो । जितको लागि एभरेष्ट स्कूलको तर्फबाट सलिम चौधरी, रोमन गिरी, यूई भट्टराई, नविन न्यौपाने र यस खनालले गोल गर्नुभएको थियो । एभरेष्ट स्कूलले उपाधिसँगै सुन र चाँदी जडित आकर्षक शिल्ड प्राप्त गरेको छ । यो रनिङ्ग शिल्ड हो ।

डनबस्को तर्फबाट एपेक्स राजवंशी, अरुण राजवंशी, ढोगराज भूजेल र क्रिस केसीले गोल गर्नुभएको थियो । दिपनारायण चौधरी, प्रशेष थापा र पारस राजवंशीले गोल नगर्दा डनबस्को स्कूल उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।

फाइनल खेलको म्यान अफ द फाइनल डनबस्कोका दिपनारायण राजवंशी तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी एभरेष्ट स्कूलका सलिम चौधरी घोषित हुनुभयो । त्यस्तै प्रतियोगिताको अनुसाशित टिम गोदावरी बोर्डिङ स्कूल घोषित भयो । प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, केन्दीय सचिव राजेशकुमार दास, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, नगर अध्यक्ष इन्द्र राई, अभिभावक संघ प्रदेश १ का अध्यक्ष देबी पन्थि र कोशी क्याम्पसका निर्देक मनिष सोनीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । ट्रफिमा जडित १८ तोला चाँदी कोशी क्याम्पसले उपलब्ध गराएको आयोजकले जनाएको छ ।

सोही अवसरमा एन्फाका पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानियाँलाई प्याब्सन विराटनगरले सम्मान गरेको छ । उहाँलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा भएको प्रतियोगितामा ४० वटा टिमको सहभागिता रहेको प्याब्सन नगर सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । खवर पूर्वाञ्चलबाट ।

Facebook Comments