Wed. Apr 17th, 2024

पाकिस्तानी दुतावासद्वारा पुरस्कार वितरण समारोहको आयोजना

dav

काठमाडौं, २०७६ पुष १ गते मंगलबार ।

नेपालस्थित पाकिस्तानी दुतावासले वार्षिक एम्बेस्डर निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दुतावासले सोमबार काठमाडौंको बौद्धस्थित होटल हायातमा आठौ निबन्ध लेखन तथा चौथो वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । त्यसैगरी कार्यक्रममा पाकिस्तान नेपाल मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिमालय शमशेर राणा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३५ हजार नगदका साथै मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसका साथै १० जना उत्कृष्ट विद्यार्थीहरुलाई ५ हजार राशीको नगद पुरस्कार पनि प्रदान गरिएको थियो । निबन्ध लेखन प्रतियोगिताको शिर्षक ‘सिल्क रोडः विगत, विर्तमान र भविष्य’ रहेको थियो ।

त्यसैगरी ‘बहिस्कृत दृष्टिकोण भन्दा समावेशी सफलताको कुँजी हो’ शिर्षकको वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतीय हुनेलाई ३५ हजार र चौथो हुने विद्यार्थीलाई २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसैगरी १२ जना उत्कृष्ट प्रतियोगी विद्यार्थीहरुलाई पनि ५ हजार राशीको नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा नेश्नल ल कलेजकी प्रशंसा घिमिरे प्रथम, विश्व भाषा क्याम्पसका गोविन्द राज जोशी द्वितीय, जेभियर एकेडेमीकी कञ्चन पौडेल तृतीय र नव क्षितीज क्याम्पसका आशिस दाहाल चौथो हुनु भएको थियो । त्यसैगरी निवन्ध लेखन तर्फ जेभियर एकेडेमीकी अवेक्क्षा डंगोल प्रथम, श्री सरस्वती मा.वि का सुरेन्द्र थिङ द्वितीय र ट्रिनिटी इन्टरनेस्नल कलेजका रोविन शाह तृतीय हुनु भएको थियो ।

कार्यक्रमपछि पाकिस्तानी दुतावासले जारी गरेको प्रेस वक्तव्यका अनुसार उच्च माध्यमिक तहदेखि विश्व विद्यालय तहसम्मका एक हजारभन्दा बढी विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको मेहनतको प्रशंसा गर्दै उनीहरुलाई दुई देशबीचका बलिया युवा पुल भएको बताउनु भयो ।

त्यसैगरी नेपालकालागि पाकिस्तानी राजदुतले दुई देशका युवाहरुबीचको अन्तरक्रियामाथि प्रकाश पार्नुभयो । यी दुई प्रतियोगिता काठमाडौंस्थित पाकिस्तानी दुतावासले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ । निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता देशभरका नेपाली युवा विद्यार्थीमाझ लोकप्रिय बन्नुका साथै यसप्रतिको आकर्षण बढ्दै गएको छ ।

Facebook Comments