Sat. Sep 28th, 2024

महत्त्वपूर्ण अफगानिस्तान-इरान सीमानाका तालिबानको नियन्त्रणमा

काठमाडौं, २०७८ असार २६ गते शनिबार । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्।

इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्। अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको छ।

अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमानाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन्। भिडिओ फुटेजमा तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान झन्डा उतारेको जस्तो देखिन्छ।

इस्लाम काला नामक उक्त नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो। त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो।

रक्षा मन्त्रालयका प्रवक्ताले सो क्षेत्रमा सुरक्षा फौजको उपस्थिति रहेको र उक्त नाका पुन: आफ्नो नियन्त्रणमा लिन प्रयासरत रहेको बताए।

अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले भूभाग कब्जा गर्ने कारबाही तेज पारिरहेको छ। गत महिना तालिबानले अफगानिस्तानको अर्को छिमेकी ताजिकिस्तानसँगको मुख्य सीमानाका कब्जा गरेका थिए।

तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको बताएको छ। तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ भने स्वतन्त्र पुष्टी गर्न कठिन छ।

अरूले गरेका अनुमानमा हाल तालिबानले देशको ४०० जिल्लाहरूमध्ये एक तिहाइभन्दा धेरै नियन्त्रणमा लिएको बताइएको छ। बिबिसी

Facebook Comments