Sun. May 19th, 2024

युरोकपको पहिलो सेमिफाइनल खेल आज मध्य राति, इटाली र स्पेन भिड्दै

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल बुधबार मध्य राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल मध्य राति १२ः४५ बजे सुरु हुनेछ ।

आज इटाली र स्पेन जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल विहिबार राति वेम्बली स्टेडियममा नै हुनेछ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको थियो ।

त्यसअघि इटालीले प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो । तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गरेको थियो । इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो । एजेन्सी

Facebook Comments