Tue. May 7th, 2024

अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउँदै ताजिकिस्तान पुगे

तस्विर-रोयटर्स

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । बिद्रोही संगठन तालिबानसँग भिडन्तकै बेला अफगानिस्तानका एक हजारभन्दा बढी सुरक्षाकर्मी ताजिकिस्तान प्रवेश गरेका छन् । ताजिकिस्तानको सीमा सुरक्षाकर्मीले अफगानिस्तानका सुरक्षाकर्मी ज्यान जोगाउन सीमा प्रबेश गरेको बताएको छ ।

बीबीसीका अनुसार अफगानिस्तानका सुरक्षाकर्मी भिडन्तको क्रममा ताजिकिस्तान सीमामा प्रबेश गरेको यो तेस्रो पटक हो । करिब एक हजार छ सय सुरक्षाकर्मी ताजिकिस्तान पुगेका छन् । अफगानिस्तानको बदाख्शन र ताखर प्रान्त ताजिकिस्तान सीमासँग जोडिएका छन् । तालिबान समूहले उक्त प्रान्तका अधिकांश भूभाग नियन्त्रणमा लिएको छ । तालिबानले पाकिस्तान सीमासँग जोडिएको एक अफगान सुरक्षा जाँच केन्द्रलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानका एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले सबै सडक बन्द गरेपछि सुरक्षाकर्मीलाई ताजिकिस्तान प्रबेशको विकल्प नरहेको बताउनुभएको उल्लेख गरेको छ ।

अफगान राष्ट्रपति अशरफ घानीले सुरक्षाकर्मी तालिबानको सामना गर्न पूर्ण सक्षम रहेको दाबी गर्नुभएपनि दर्जनौं सुरक्षाकर्मी उज्वेकिस्तान र पाकिस्तानमा शरण लिन पुगेका छन् । तालिबानसँगको भिडन्त उत्कृर्षमा पुगे मध्य एशियाका अन्य कतिपय राष्ट्रमा अफगान शरणार्थी बढ्ने चिन्तामा छन् ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले भने हिंसात्मक गतिबिधि बढ्नुमा तालिबान जिम्मेवार नरहेको बताएका छन् । उनले अफगान सुरक्षाकर्मी लड्न अस्वीकार गरेपछि थुप्रै जिल्ला तालिबानको कब्जामा आएको बताएका छन् ।

अफगानिस्तानमा हिंसात्मक घटनामा उच्च दरले बृद्धि भएको छ । उत्तरी अफगानिस्तानका भूभाग तालिबानले नियन्त्रणमा लिने क्रम जारी राखेको छ । नेटो संगठनका सुरक्षाकर्मी २० वर्षपछि अफगानिस्तान छोडेर प्रस्थान गर्न लाग्दा तालिबानले आफ्नो गतिबिधि तेज बनाएको हो । अफगानिस्तानमा रहेका अधिकांश विदेशी सुरक्षाकर्मी स्वदेश फर्केका छन् । यस्तो अफगानिस्तानको सुरक्षा निकाय समपर्ण गर्ने आशंका बढेको छ ।

तालिबान समूहसँगको सम्झौता बमोजिम अमेरिकी र नेटो संगठनमा आबद्ध राष्ट्रका सुरक्षाकर्मी सेप्टेम्बर महिनासम्म अफगानिस्तान छाड्नेछन् । जवाबमा तालिबानले अल कायदा वा अन्य अतिवादी संगठनलाई आफूले नियन्त्रणमा लिएको भूभागमा कुनै गतिबिधि गर्न दिने छैन् । यद्दपी तालिबानले हिंसात्मक गतिबिधि छोडेको छैन् । र अफगानिस्तानको एक तिहाइ भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments