Fri. May 3rd, 2024

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघ्यो

काठमाडौं, २०७८ असार १३ गते आईतबार । महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेहरुको सङ्ख्या ९ हजार नाघेको छ ।

बितेको २४ घण्टामा नेपालमा एक हजार नाै सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार जनाकाे आरटी/पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३३ हजार ६ सय ७९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ हजार ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाडौंमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै बितेको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै हजार नाै पुगेको छ ।

Facebook Comments