Fri. Apr 19th, 2024

महोत्तरीमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो

काठमाडौं, २०७८ असार १३ गते आईतबार ।  महोत्तरीमा २३ दिनदेखि बेपत्ता भनिएकी लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएकाे छ । सुजिताका माइती पक्षले मुकेश (सुजिताका श्रीमान्) कै खेतमा छोरीको कपाल भेटिएको दाबी गरेपछि प्रहरीले घटनास्थलमा पुगेर खन्ने क्रममा सुजिताको शव भेटिएकाे हो ।

पीडित पक्षले गएकाे हप्ता बेपत्ता छाेरीका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले जाहेरी लिन नमानेकाे माइती पक्षकाे भनाइ छ । त्यसपछि सुजिताको खाेजी हुँदै आएको थियो ।

मृतकका भाइ शिवम् पाण्डेले यसअघि ससुराली पक्षले सुजितालाई विभिन्न बहानामा कुटपिट गर्दै आएको बताउनुभयो । उहाँले दुई हप्ताअघि फेसबुकमा लाइभ आएर आफ्नो दिदीको हत्या भएको र उनको शव बेपत्ता पारेको हुन सक्ने जनाउनुभएको थियो ।

केही वर्षअघि नै सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेकाे तर त्याे घटना प्रहरीले छलफल गरी मिलाएको अभियन्ता गुन्जा रायले आराेप लगाउनुभयाे ।

महोत्तरीका एसपी दिनेश आचार्यले अहिले घटनाकाे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताउनुभएको छ । उज्यालो अनलाईन

Facebook Comments